काठमाडौँ । नेपाली काँग्रेसले असल शासनका मूलभूत तत्त्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ ।स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा स्थानीय तहमा असल शासन सार्वजनिक सेवा प्रवाह एवं चुस्त कार्य प्रणालीका लागि महत्त्वपूर्ण स्तम्भका रुपमा रहने उल्लेख गरिएको हो ।

असल शासन र जबाफदेहिता एक–अर्काका अभिन्न अङ्ग भएकाले यसलाई पूर्णरुपमा पालना गर्ने काँग्रेसको प्रतिबद्धता छ । स्थानीय सरकारले सरकार सञ्चालनका क्रममा नागरिकलाई प्रत्यक्ष सहभागी गराउनुपर्ने र नागरिक पनि सरकारको प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिइएको छ । “स्थानीय सरकार जबाफदेही हुनुपर्छ भने नागरिकले खबरदारी गर्नुपर्छ ।

स्थानीय सरकारको आधारभूत सिद्धान्त र प्रस्तावना पनि यही हो, नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सम्पूर्ण स्थानीय सरकार जनताप्रति उत्तरदायी र जबाफदेही हुनेछन्”–घोषणापत्रमा भनिएको छ । स्थानीय तहले सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक काम गर्ने घोषणा पत्रमार्फत सार्वजनिक गरिएको र यसका लागि जनताले निरन्तर खबरदारी गर्न पनि पार्टीले आह्वान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस !