हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा ९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि आफूलाई खबर गरेका थिए। उहाँका अनुसार मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ।

‘जानकारी आउनासाथ आफू घटनास्थल पुगेर हेर्दा मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक गल लगाएर उखेलेर फालिएको अवस्थामा थियो,’ भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन्। ‘त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी दुई शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य हो,’ भण्डारीले भन्नुभयो । २० महिना अगाडि करिब २० बिगाहा क्षेत्रफल समेटर पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !