काठमाडौँ ।  सत्ता गठबन्धनले भोलि (सोमबार)सम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच सोमबारसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबारसम्ममा महानगर र उपमहानगरको उम्मेदवारीबारे टुंगो लाग्ने बताए । ‘महानगर र उपमहानगरको सिट बाँडफाँट र उम्मेदवारीको टुंगो भोलिसम्ममा लगाउने भन्ने समझदारी भएको छ, भोलि पुनः गठबन्धनको बैठक बस्छ, र देशैभरि चुनावी तालमेलेको अवस्थाबारेको प्रतिवेदनमाथि छलफल र समीक्षा हुन्छ,’ उनले भने, ‘त्यसैको आधारमा तालमेलको तयारी अघि बढ्छ ।’

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् । गठबन्धनको केन्द्रीय संयन्त्रले सोमबारभित्र केन्द्रमा प्रतिवेदन बुझाउन प्रदेश संयन्त्रहरूलाई निर्देशन गरेको छ । अहिले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका संयन्त्रले गठबन्धनभित्र सिट बाँडफाँटको आधार र मापदण्डमाथि छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले सोमबार गठबन्धनको केन्द्रीय संयन्त्रले गठबन्धनका शीर्ष नेताहरूलाई देशैभरिको अवस्थाबारेको प्रतिवेदन पेस गर्ने जानकारी दिए । ‘बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले सोमबारसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने निर्णय गरेको छ,’ उनले भने, ‘बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने तयारी छ ।’

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते मनोनयन दर्ताको मिति तोकेको छ । उम्मेदवारको मनोनयनका लागि एक सातामात्रै बाँकी हुँदासम्म पनि गठबन्धन दलहरूले सिट बाँडफाँटकै टुंगो लगाउन सकेका छैनन् । आकांक्षी धेरै हुँदा दलहरूलाई आन्तरिक व्यवस्थापनमा झन् सकस हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस !