चितवन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गर्नुभएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरिबीको अन्त्य हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार र गरिबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ ।” उहाँले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावलाई ख्यालख्याल नठानौँ, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।”

भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उहाँले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ ।” विगत निर्वाचनहरुमा ठिक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उहाँको भनाइ थियो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौँ । नमूना पालिका बनाउनेछौँ ।”

कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताउनुभयो । अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उहाँहरुको भनाइ थियो ।

सो अवसरमा राप्रपाका महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहायक महामन्त्री प्रेम बलायर, सहमहामन्त्री रिना गुरुङलगायतले बोल्नुभएको थियो । जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !