काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा सबै खराब छन् भनेर सोच्न नहुने बताएका छन्। बिहीबार माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भित्र तीन वर्ष बसेर हेर्दा ८० प्रतिशत इमान्दार कम्युनिस्ट रहेको धारणा राखेका हुन्।

‘एमालेमा सबै खराब छन् भन्ने सोच्न हुँदैन।’ प्रचण्डले भने,‘एमाले भित्र त मैले, हामीले तीन वर्ष बसेर हेरेउ नि त, को-को कस्ता रहेछन् भनेर हेर्दा त्यहाँ पनि ८० प्रतिशत इमान्दार कम्युनिस्ट छन्। क्रान्ति भइदियोस् भन्ने चाहना राख्ने छन्।’

प्रचण्डले एमाले नेतृत्वले धेरै भ्रम दिएर उनीहरुलाई राखेकाले एमालेभित्र बन्दी बनेर बसेकालाई मुक्त गर्नुपर्ने समेत बताए। ‘एमालेभित्रका कम्युनिस्टहरु प्रतिक्रान्ति, प्रतिगमनकारी प्रवृतिका बन्दी बस्न बाध्य भएका छन्। हामीले उनीहरुलाई मुक्ति गर्नुछ। उनीहरुको पनि हामीले नेतृत्व गर्नुछ।’ उनले थपे, ‘उनीहरुलाई ठूलो सोचाई नराखि क्रान्ति हुँदैन।’

माओवादी नफुटेको भए माओवादी र एमाले एकता हुँदा माओवादी ६०, एमाले ४० प्रतिशतको भागबण्डा हुने स्मरण गरे। उनले माओवादीलाई घेराबन्दी गर्ने विपक्षीको रणनीति भएकाले सचेत हुनुपर्ने बताए। प्रचण्डले माओवादी विभाजित हुँदा प्राप्त उपलब्धि गुम्ने, माओवादीका मुद्दा सिद्धाउने र कमजोर पार्ने, इतिहास धुमिल हुने भएकाले माओवादीहरु एक हुनुपर्ने बताए।

उनले माओवादीहरु ध्रुवीकृत भएर मात्र प्रतिगमनलाई परास्त गर्न सक्ने भएकाले एकजुट हुन आग्रह गरे। प्रचण्डले भने, ‘पार्टी आउनुस् प्रतिगमनकारीलाई परास्त गरौं, प्राप्त उपलब्धि रक्षा गर्न र वैज्ञानिक समाजवादमा जान हातेमालो गरौं।’ उनले पार्टीमा आउनेलाई आग्रह, पूर्वाग्रह नराख्ने बताए।

प्रतिक्रिया दिनुहोस !