काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धन दलसँगमात्र तालमेल गर्न मातहतका कमिटीमा पुनः परिपत्र गरेको छ । माओवादीले परिपत्र मार्फत परमादेशी गठबन्धनका सम्बन्धमा केन्द्रीय नीति भन्दा फरक निर्णय लिनुपरे पूर्व स्वीकृति अनिवार्य रूपमा लिन पनि भनेको छ ।

सोमबार सत्तागठबन्धन दलका शीर्ष नेताहरुले देशभर ठाँउ र आवश्यकता अनुसार चुनावी तालमेल गर्न, आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनमा रहेका दलका नेता कार्याकर्तालाई संयुक्त अपिल जारी गरेलगत्तै प्रचण्डले पार्टी पंक्तिलाई विशेष परिपत्र गरेका हुन् ।

माओवादी केन्द्रले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको अन्तिम टुंग्गो केन्द्रीय कार्यालयले गर्ने निर्णयसहितको परिपत्र पार्टी पंक्तिमा गरेको छ । प्रचण्डले जारी गरेको परिपत्रमा महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पार्टीको प्रदेश समितिहरुले सर्वसम्मत भए एक (एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ ।

त्यसरी आएको सिफारिसको अन्तिम निर्णय केन्द्रीय कार्यालयले गरी पठाउने प्रचण्डको विशेष परिपत्रमा उल्लेख छ । त्यस्तै, नगर र गाँउ पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्वन्धित पालिका समितिहरुले गर्ने र सम्वन्धित जिल्ला समन्वय समितिहरुको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंग्गो लगाउने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !