चितवन । जेन्टल हर्ट फाउण्डेशन काठमाडौँको आयोजनामा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० र ११ सिद्धिमा ६ महिने निशुल्क सिलाइ कटाइ तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । सो वडाका २० जना विपन्न महिलाहरूको सहभागिता रहेको कार्यक्रममा उनीहरूलाई निशुल्क तालिमका साथसाथै निशुल्क रूपमा सिलाइ मेसिन समेत प्रदान गरिएको थियो ।

जेन्टल हर्ट फाउण्डेशनका कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, संस्थाका सदस्य रेविका ढकाल, शोभा ढकाल, पत्रकार शिशिर सिंखडा, संस्थाका प्रोग्राम को–अर्डिनेटर जगदिशचन्द्र पोख्रेल, संस्थाका चितवन को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सिलाइ कटाइ तालिम प्रशिक्षक शान्ति राई, महिला समूहकी अध्यक्ष अमृता चेपाङ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा कालिका वडा नं. १० का वडा अध्यक्ष दिलबहादुर गुरूङ, कालिका वडा नं. ११ का अध्यक्ष कृष्ण बहादुर प्रजा, समाजसेवी गयासिं प्रजाको उपस्थिति रहेको थियो । कार्यक्रममा तालिममा सहभागी अनुसा चेपाङ र पृथ्वी चेपाङले गीत प्रस्तुत गरेका थिए । संस्थाले आफ्टर स्कुल प्रोग्राम अन्तर्गत विभिन्न विद्यालयमा सहयोगहरू समेत गरिरहेको छ । सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वस्तीमा निशुल्क सिलाइ कटाइ तालिमहरू उपलब्ध गराउँदै आएको छ साथै संस्थाले विपन्न वस्तीमा खाद्यान्न, न्यानो कपडा, झुल, विद्यार्थीहरूका लागि छात्रवृत्ति, न्यानो कपडा, स्टेशनरी सामग्री सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस !