चितवन ।  चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै उहाँले यो सेवन सिक्नुभयो ।

तर अहिले लत छोडेका अधिकारी समाज सुधारको बाटोमा लाग्नुभएको छ । झण्डै १५ वर्षसम्म लागू पदार्थमा लिप्त रहेका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनःजीवनको सन्देश दिन सक्रिय हुनुहुन्छ ।

विसं २०३८ मा जन्मिनुभएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थाल्नुभयो । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाल्नुभयो । उहाँको बानीमा सुधार आएन । झनै उहाँमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो ।

बिदाका समयमा घर जाँदा काठमाडौँबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उहाँको ध्यान जान थाल्यो । उहाँले चुरोटसँगै मदिरा, गाँजा, चरेस र ड्रग्स प्रयोग गर्न थाल्नुभयो ।

अधिकारीले विगत सम्झँदै भन्नुभयो, “त्यतिबेलै मलाई मात्र नभएर अरुलाई पनि यो लतमा फसाएका थिए ।” प्रवेशिका परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण हुनुभएका उहाँ १२ कक्षा पढ्दै गर्दा पूर्णरुपमा नशामा डुब्नुभयो । त्यसपछिका उहाँका दिन कहालीलाग्दा भए । पढाई मात्रै रोकिएन, घरपरिवारले उहाँलाई धान्नसक्ने अवस्था रहेन । उहाँले भन्नुभयो, “मेरा घरका दराजका ढोका सबै बाङ्गिएका थिए, मैले नै हानेर त्यस्तो भएको हो ।”

लागू पदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनैपर्ने भएपछि उहाँले चोरी, डकैती, लुटपाट केही छाड्नुभएन । उहाँले भन्नुभयो, “भारतको पञ्जाबमा दैनिक रु ८० कमाउँथे, रु ७० को लागू पदार्थ खान्थेँ, रु १० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाइँपछि नेपाल फर्किनुभएका उहाँले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताउनुभयो ।

घर फर्किएपछि परिवारले उहाँको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “कहीँ नहिँड्नु बरु तैले खाने सबै मैले नै ल्याइदिन्छु”, भन्नुभयो । त्यसपछि अटोमोबाइलको व्यवसाय गर्नुहुने बुवासँगै उहाँ पनि काममा लाग्नुभयो । लत भने छुट्न सकेन । त्यसैबेला उहाँका परिवारले पुनःस्थापना केन्द्र लग्नुभयो । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशःउहाँमा सुधार हुँदै गयो । तीन महिनाको बसाईंपछि उहाँ पूर्णरुपमा लागू पदार्थ सेवनबाट मुक्त हुनुभयो ।

पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उहाँमा नयाँ जीवन पलायो । यससँगै विवाह बन्धनमा बाँधिएर दुई सन्तानका बाबु बन्नुभएका अधिकारी जहाँ आफू सुध्रनुभयो त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहनुभएको छ । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उहाँ समय खर्चिने गर्नुहुन्छ ।

विगत तीन वर्षदेखि पोखरामा गाडीको ग्यारेज सञ्चालन गर्दै आउनुभएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागू पदार्थबिनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणका लागि अपहेलना गर्नुहुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।”

जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकामा पछुताउँदै उहाँले भन्नुभयो, “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको ऊर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनको उपचार गरेमा निको पार्न सकिने बताउँदै उहाँले भन्नुभयो, “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।”

आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उहाँले भन्नुभयो, “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा सञ्चालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुलतमा जानेलाई प्रश्रय गरेको भन्दै उहाँले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

लागू पदार्थ छोडेको १५ वर्षको अवधिमा उहाँले परिवार चलाउन सक्नेगरी व्यवसाय चलाउनुभएको छ भने कुलतमा फसेकालाई सुधार गर्न प्रेरणा दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !