विराटनगर ।  स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदका लागि नेकपा (एमाले)ले सम्भावित ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । महानगरमा प्रमुखको उम्मेदवार बन्ने आकांक्षी धेरै हुँदा सर्वसम्मत सिफारिस सम्भव भएन । सर्वसम्मतको प्रयास सफल नहुँदा वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा मेयरको उम्मेदवारका लागि एमालेबाट सम्भावित ५ जनाको नाम सिफारिस गर्नुपर्ने अवस्था आएको हो ।

पार्टी विराटनगर महानगर कमिटीको शनिबार सम्पन्न बैठकले उपमेयरका लागि ३ जनाको नाम सिफारिस गरेको छ । महानगर कमिटीले मेयरका लागि अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की तथा पार्टीको प्रदेश १ कमिटीका सदस्यहरु पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।

उपमेयरका लागि शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय (शिला) को नाम सिफारिसमा परेको छ । स्थानीय स्तरमा सम्भव नभएकाले महानगरको उम्मेदवारीको विषयमा एमाले केन्द्रीय कमिटीले टुंगो लगाउने भएको छ । मेयरको उम्मेदवारमा एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित र प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरेको नाम पनि चर्चामा थियो । पार्टीको सिफारिसमा दुवैजना परेनन् । सर्वसम्मतको प्रयास सफल नभएपछि दाबेदार मानिएका पण्डित र घिमिरे ‘ब्याक’ भएको एमाले स्रोतले बतायो ।

एमालेले विराटनगर–१०, ११ र १९ नम्बर वडामा वडाध्यक्षका उम्मेदवारको समेत टुंगो लगाएको छ । विराटनगर–१० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडाध्यक्षको उम्मेदवारका लागि सिफारिस गरिएको छ । १९ वटा वडा रहेको विराटनगरमा १६ वटाका उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको एमालेले जनाएको छ ।

उम्मेदवार सिफारिस गर्न बसेको एमाले विराटनगर महानगर कमिटीको बैठक ।

प्रतिक्रिया दिनुहोस !