चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ ।

प्रज्ञास्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उहाँले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ ।”

निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “छिट्टै निर्माणकार्य सुरु हुनेछ ।”

साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको भन्दै उहाँले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताउनुभयो ।

उहाँले साइक्लिङ खेललाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन र आर्थिक वृिद्ध गर्न सकिने बताउनुभयो ।

उहाँले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिनुभयो । राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकूद समितिले सोहीबमोजिम आफ्ना गतिविधि अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम हुनुभयो भने सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गर्नुभयो ।

त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बन्नुभयो ।

म्याराथुनमा मास्टर सेरोमेनीमा विजयीहरूलाई पुरस्कृत गरिएको थियो । म्याराथुनमा उत्कृष्ट साइकल राइडर सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमी दूरी पूरा गरी सर्वोत्कृष्ठ बन्नुभयो । कार्यक्रममा विभिन्न विधाका ४१ जना विजयी खेलाडीलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । चितवनसहित ११ जिल्लाका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !