गलकोट ।  बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसँै मेलामा चोयाँका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउनुहुन्छ ।

बिहीबारदेखि सुरु भएको चैते दसैँ मेलामा उहाँले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याउनुभएको छ । बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमणले दुई वर्ष चैते दसँै मेला नभएका कारणबाहेक २८ वर्षदेखि मेलामा चोयाँका सामग्री बिक्री गर्न आउनुभएका विकले चैते दसैँको मौलिकता हराउँदै गएको बताउनुभयो । परम्परा धान्नकै लागि जलजलाबाट यहाँ आए पनि पछिल्लो १० वर्षयता घरेलु उत्पादन सामग्री मेलामा रुचाउन छोडेको बताउनुभयो ।

वर्षभरि उत्पादन गरेको निगालोको चोयाँको डाली, नाङ्ला र डालो चैते दसँै मेला, रिडीको मेला र शान्तिपुरको मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आउनुभएका विकले अब चोयाको उत्पादनबाट जीवन धान्न नसक्ने बताउनुभयो । “बाबाले चोयाबाट डाला, नाङ्ला, डोको, थुन्से लगायतका सामग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै आफूले चोयाँको सामग्री बनाउन सिकेको थिए, पहिला राम्रो व्यापार थियो, चैते दसँैमा जलजलाबाट बोकेर बिक्रीका लागि यहाँ ल्याउँथे, अहिले सवारीले सहज त बनाएको छ, तर पहिला जस्तो अहिले चैते दसँैको रौनक छैन, घरेलु उत्पादन त अबदेखि विक्री हुन नै छाडेँे”, शशिराम विकले भन्नुभयो, “अहिले त प्लाष्टिकका भाँडाकँुडा, खेलौना र खानपिनमा मेला समिति भएको छ, बागलुङ झरेको दुई दिनमा दुइटा मात्रै डालो बिक्री गरे, खास चैते दसँै भनेको दैनिक प्रयोगमा आउने ठेका, डाला, नाङ्ला, बाउँसो, आँसी लगायतका वस्तुहरुको खरिद बिक्री भन्ने बुझिन्थ्यो अहिले त्यस्तो छैन ।”

उहाँका तीन छोराले चोयाको सामग्री बनाउन सिकेका छैनन् । त्यसैले आगामी पुस्ताले यो पेसा नअँगाल्दा झनै समस्या हुने उहाँको भनाइ छ । उहाँले रु ५०० मा पाँच पाथीको ठालो बिक्रीका लागि चैते दसँैँ मेलामा आउनुभएको हो । चैते दसैँमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको बुढापाकाहरु बताउँछन् । चैतेदसैँको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामग्री वर्षभरिलाई खरिद गर्ने चलन भए पनि विस्तारै यसको मौलिकता हराएर खानपान र नाचगानमा मेला सीमित हुन थालेको चैते दसँै मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउँदै गर्नुभएका बागलुङको बलेवा अमलाचौरका प्रेमबहादुर चुदाराले बताउनुभयो ।

“चार पाँच वर्षअघि सम्म त ठेकाठेकीको व्यापार निकै राम्रो थियो, सबै ठेकाठेकी व्यापार गरेर सक्थे”, उहाँले भन्नुभयो, “तर अहिले त्यो समयको चैते दसँै र यो समयको चैते दसँैमा आकाश पातालको भर भइसक्यो, अहिले आयातीत सामग्री खरिदमा स्थानीयवासीको भीड लाग्छ, आधुनिक उपकरणको विकासले ठेकाको व्यापार नहुने देखियो, पछिल्ला वर्षमा परम्परा धान्न मात्रै ठेका ल्याएर आएको हुँ ।” चुदाराले गुम्मीमा गएर ठेका उत्पादन गर्दै आउनुभएको छ । उहाँले ठेकाठेकी बनाउने प्रचलन पुस्ता हस्तान्तरण नहुँदा आगामी दिनमा लोप भएर जाने बताउनुभयो ।

यस्तै चैते दसँैमा अहिले घरेलु हातहतियार, खुकुरी, बाउसो, आँसी लगायतका वस्तुहरु बिक्रीका लागि ल्याइएको समेत छैन । चैते दसैँ मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको स्थानीयवासी दुर्गा आचार्यले बताउनुभयो । मेलामा झाँकी, घरेलु उत्पादन, ढाका टोपी, अल्लोको कपडा, ढाकाको कपडा, मादल, बुट्टेनली लगायतका उत्पादनहरुदेखि नै छोडेका छन् ।

मेलामा आयातीत लत्ताकपडा, मनोरञ्जनका सामग्री तथा आधुनिक खानाका परिकारले महत्व पाउन थालेकाले बिस्तारै चैते दसँैको मौलिकता हराउँदै गएकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !