काठमाडौँ ।  गत महिनामा देशभरमा १२७ महिला हिंसाका घटनामध्ये २७ बलात्कार र तीन बालत्कारको प्रयास भएको पाइएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनअनुसार तीनजनाको बलात्कारपछि हत्या भएको पाइएको छ । अध्ययनअनुसार यी घटनामा पीडक पीडितका नजिकका व्यक्ति नै भएको पाइएको छ । यी घटनाका पीडकमध्ये ४८ प्रतिशत छिमेकी, १५ प्रतिशत साथी, १९ प्रतिशत अपरिचित र १५ प्रतिशत प्रेमी भएको अध्ययनले देखाएको छ ।

त्यस्तै पीडकमा सात प्रतिशत परिवारका सदस्य, सात प्रतिशत शिक्षक र चार प्रतिशत सेवा प्रदायक छन् । बलात्कारका घटनामा पीडितमध्ये ५६ प्रतिशत १६ वर्षमुनिका बालिका तथा किशोरी रहेका छन् भने १७ देखि २५ वर्षको उमेर समूहका २६ प्रतिशत पीडित भएको पाइएको छ ।

त्यस्तै १५ प्रतिशत पीडित २६ देखि ३५ वर्ष उमेर समूहका र चार प्रतिशत ३६ वर्षमाथिका पाइएका छन् । फागुनमा भएका हिंसाका घटनामध्ये ४४ प्रतिशत घरेलु हिंसा, १४ प्रतिशत सामाजिक हिंसा, २१ प्रतिशत बलात्कार र दुई प्रतिशत बलात्कारको प्रयास छ । जम्मा १० प्रतिशत हत्या, दुई प्रतिशत यौन दुव्र्यवहार र दुई प्रतिशत मानव बेचबिखनका घटना छन् ।

संविधानले बलात्कारलगायत सबै प्रकारका हिंसालाई कानुनी रुपमा दण्डनीय मानेर कानुनअनुसार न्याय पाउने र क्षतिपूर्ति समेतको व्यवस्था गरेको छ । धेरै पीडितले भने न्याय पाउन नसकेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !