काठमाडौं ।  सत्ता गठबन्धनको बैठकमा देशको अर्थतन्त्र ओरालो लागेको विषयले प्रवेश पाएको छ। नेपालको अर्थतन्त्रका परिसूचकहरू नकारात्मक र कमजोर हुँदै गएकोप्रति अर्थविद्ले चिन्ता व्यक्त गर्न थालेपछि मंगलबारको गठबन्धनको बैठकमा छलफल भएको हो।

बैठकले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। उनले भने, ‘पछिल्लो समयमा देखिएको अर्थतन्त्रको सुधारका लागि अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय छ। अन्तर्क्रिया, छलफलबाट प्राप्त हुने सुझावको आधारमा सरकारले ठोस कदम चाल्ने निर्णय भएको छ।’ अर्थतन्त्रमा समस्या देखिएको विषय उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारका लागि छलफल गरेर अगाडि बढ्ने जवाफ दिएका थिए।

मंगलबार अन्नपूर्ण पोस्ट्ले विकास खर्च २४.९१ % मात्र भएपनि भुक्तानी दिन पैसै नभएको समाचार प्रकाशित गरेको थियो। सरकारले चैत २० गतेसम्म पुँजीगत अर्थात् विकास खर्च २४.९१ प्रतिशत मात्रै गरेको छ। ७५ प्रतिशत विकास बजेट खर्च हुन सकेको छैन। तर, काम सम्पन्न भएका आयोजनाको भुक्तानी हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत १ हजार ५ सयभन्दा बढी बहुवर्षीय योजना छन्। यीमध्ये सडक, पुलजस्ता पूर्वाधार निर्माण सकिएको महिना कट्दा पनि भुक्तानी नपाएकाबारे प्रदेश, स्थानीय सरकारदेखि मन्त्रालयसम्म धेरै गुनासो आएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुँजीगत खर्च समीक्षा अवधिमा गत वर्षभन्दा कम हो। गत वर्ष चैत २० गतेसम्म २६.३८ प्रतिशत पुँजीगत खर्च भएको थियो। प्रदेश र स्थानीय तहबाट विनियोजन भएका परियोजनाको भुक्तानीमा पनि समस्या देखिएको छ।

विदेशी विनियम सञ्चिति घटेको छ। आयात बढेको छ। शोधान्तर घाटा चुलिएको र मूल्यवृद्धि अकासिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। विदेशी मुद्रा घट्दै गए अत्यावश्यक वस्तु आयातमा संकट ल्याउन सक्ने संकेत देखिएको छ।

हाल देखिएको तरलता संकट र बैंकिङ क्षेत्रमा बढ्दो जोखिमले वित्तीय क्षेत्र संकटपूर्ण स्थितिबाट गुज्रिरहेको छ। विगत केही वर्षदेखि बेलाबेलामा कहिले तरलता संकट र कहिले उच्च तरलता हुने गरेको थियो।

पछिल्लो समय अर्थतन्त्र ओरालो लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चिन्ता प्रकट गरेको छ। देउवा नेतृत्वको सरकार बनेपछि मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै बताउँदै आएका छन्। एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागले व्यवसायीसँग छलफलमा उनले सरकारले अर्थतन्त्र निराशाजनक र डरलाग्दो अवस्थामा पुर्‍याएको दाबी समेत गरेका थिए।

अर्थतन्त्रका सबै सूचक नकारात्मक हुँदा पनि सरकार राम्रो छ भनेर हिँडिरहेको ओलीको भनाइ थियो। ‘उहाँहरू देशको अर्थतन्त्र चुस्त, दुरुस्त छ भनाउन तल्लीन हुनुहुन्छ। जुन खालको धन्दा उहाँहरू गर्न खोज्दै हुनुहुन्छ, यो उपयुक्त होइन,’ ओलीले भने। उनले जनताको जीवनस्तर उकासेर आर्थिक समृद्धि हासिल गर्नु राजनीतिको महत्त्वपूर्ण पक्ष हुने बताए। ‘को सरकारमा छ भन्ने विषयले भन्दा पनि अर्थतन्त्र कसरी चलेको छ भन्ने विषयले अर्थ राख्छ,’ अध्यक्ष ओलीले भने।

कतिपयले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने चर्चा हुन थालेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन्। अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन आफू लागेको राजधानीमा चैत्र १७ गते आयोजित एक कार्यक्रममा बताएका थिए। ‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं, ’प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन।’

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस !