बेनी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरूको कुइनेखानीको बारी पहिराले बगाएको थियो ।

विगत १२ वर्षदेखि विकका परिवार उनको श्रीमती लालमायाको कान्छो बुबाको घरमा आश्रय लिएर बसेका छन् । विक दम्पतीको अनमेल विवाह भएको थियो । न्यून दृष्टिविहीन रहनुभएकी लालमायाको ३९ वर्ष जेठा बसवीरसँग विवाह भएको थियो । अहिले लालमाया ३५ र बसवीर ७४ वर्ष पार गर्नुभएको छ ।

विक दम्पतीका चार सन्तान छन् । गरिबी, अभावको चरम सामाना गरेको यस परिवारले आश्रय लिएको घरसमेत जीर्ण अवस्थामा पुगेको छ । माइतीमा आश्रय लिएको घरबाहेक खेती–किसानी गर्ने कुनै जग्गाजमिनसमेत छैन ।

मजदुरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका विक परिवारमा घरमुली बसवीर वृद्ध हुँदै गएको र उहाँको गत वर्ष एउटा आँखाको ज्योति गुमेपछि परिवार नै साहाराविहीन बन्न पुगेका हुन् ।

“जेनतेन परिवार पालेको थिएँ, अघिल्लो वर्ष काम गर्ने क्रममा आँखामा ढुङ्गा प¥यो, समयमै अस्पतालमा उपचार गराउन जान नसक्दा आँखा नै बन्द भयो, अहिले त अर्को आँखाले पनि कम देख्न थालेको छ, पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो”, उहाँले भन्नुभयो । उहाँकी श्रीमती पनि न्यून दृष्टिविहीन हुनुहुन्छ ।

घरमुली दम्पतीले नै काम गर्न नसक्ने र दुवैको कुनै पनि आम्दानीको स्रोत नभएपछि उनीहरूको दैनिक घर खर्चदेखि छोराछोरीको पालनपोषण र शिक्षामा समेत अभावले सताउन थालेको छ । आफूहरूले घरायसी सामान्य कामबाहेक केही गर्न नसक्ने र छोराछोरी साना भएकाले घरखर्च र पढाइलेखाइ गराउन समस्या भएको लालमायाले बताउनुभयो ।

विक दम्पतीका ती छोरा र एक छोरीमध्ये एक जनाले स्कुल जान नै छाडेका छन् । जेठो १५ वर्षका छोरा सुविन्द्रलाई काठमाडौँको एक संस्थाले निःशुल्क पढाइदिएको छ । स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दागर्दै ११ वर्षका माइलो छोरा राजेन्द्रले आर्थिक अभावकै कारण स्कुल जान छोडेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएको र कापी, कलम तथा लत्ताकपडा व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छाडेर छिमेकी र गाउँलेको काम गर्न थालेको आमा लालमायाले दुःखेसो पोख्नुभयो । लालमायाकी १० वर्षीया छोरी सुशीलालाई पनि पढ्ने निकै रुचि छ तर उनको पढाइ पनि बीचैमा रोकिने त होइन भन्ने चिन्ता छ । विक दम्पतीको कान्छो छोरा तेजिन्द्र भर्खर दुई वर्षका छन् । नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाउने विक दम्पती गरिबी, अशिक्षा र अभावको चपेटामा परेका छन् ।

“छोराछोरी साना छन, श्रीमान् ७४ वर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि आँखाको कमजोरी छु, लाउने खानेदेखि लिएर पढाउन पनि धरै समस्या भएको छ, कपडा त मोगेर लगाउँछौँ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाइका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो”, लालमायाले भन्नुभयो । अहिलेसम्म त जेनतेन चलेको विक परिवारमा बिरामी भएमा कहाँ जाने भन्ने प्रश्नले पिरोलिरहन्छ ।

प्रतिक्रिया दिनुहोस !