चितवन। गत निर्वाचनमा एउटा पालिका प्रमुख र ३५ वडामा विजयी हात पारेको कांग्रेस चितवनले आगामी स्थानीय निर्वाचनमा बर्चश्व कायम गर्ने गरी निर्वाचनमा होमिएको छ । कांग्रेसले ९८ वडामा प्रतिनिधि खटाएर चुनावमा होमिएको हो ।

निर्वाचन लक्षित गरेर कांग्रेसले विभिन्न गतिविधि गर्दै आएको भए पनि आक्रामकण रुपमा भने बल्ल चुनावी अभियानमा लागेको छ । जिल्ला सभापति राजेश्वर खनाल जिल्लाको स्थानीय तहमा बर्चश्व कायम हुने गरी अभियान थालेको बताउनुहुन्छ । उहाँका अनुसार वडामा खटिएका प्रतिनिधिहरुलाई बिहीबार अभिमुखीकरण प्रशिक्षण गरिएको छ । खनालको भनाईमा ती प्रतिनिधिहरु चैत १२ गते बिहानबाट आआफ्नो वडामा खटिने छन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत वडा कमिटी, टोल कमिटी, स्थानीय कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्ने खनालले जानकारी दिनुभयो । उहाँले  भन्नुभयो “दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने छन् ।”

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीविहरुलाई वडामा खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टी र अन्य पार्टीको अवस्थाबारे जितका लागि चाल्नु पर्ने कदमहरु लगायतका विषयमा पनि अध्ययन गर्ने सभापति खनालको भनाई छ । भोलि शनिबार बिहान ११ः३० बजे एकै साथ जिल्लाका ९८ वडामा अभियान शुरु गरिने खनालले बताउनुभयो ।

पार्टीले फागुन २९ गतेबाट जिल्लामा निर्वाचन अभियान शुरु गरेको थियो । चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान शुरु गरिसकेको छ । जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या २८ हजार रहेको छ । सात पालिकाको ९८ वडा मध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । ईच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा भरतपुर महानगरपालिकामा उपप्रमुख बाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस !