काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा रहेको बताएका छन्। बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’देखि समाजवादसम्म पुग्ने अभिभारा एमालेसँग रहेको बताएका हुन् ।

एमालेसँग आजका समस्या र चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा रहेको ओलीले धारणा राखे। उनले भने, जनताको अभिमतबाट अभिभारा पूरा गर्न सक्ने भएकाले निर्वाचनबाट बहुमत ल्याउनुपर्छ।’

उनले एमाले कम्युनिस्ट पार्टीमध्ये मात्र नभएर देशकै सबैभन्दा ठूलो पार्टी भएको स्पष्ट पारे। उनले केन्द्रीय कमिटी बैठकपश्चात नयाँ उत्साहसाथ जनतामाझ जानुपर्ने बताए।

केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशको संगठनात्मक कामको अवस्था, जिल्लाको शक्ति सन्तुलनको स्थिति र निर्वाचनको तयारी तथा सम्भावनाबारे जानकारी गराउने छन्। केन्द्रीय कार्यालयको तर्फबाट महासचिव शंखर पोखरेलले विभाग, जनसंगठन, आयोग र कार्यालयसहित समग्र पार्टी कामको रिपोर्टिङ प्रस्तुत गर्ने एमालेले जनाएको छ।

सत्तापक्षको अनिच्छा रहँदारहँदै एमालेको दबाबले स्थानीय तहको निर्वाचनको मिति तय गरेर प्रक्रिया अघि बढेको, पार्टीको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र ठाँउ ठाउँमा पार्टी प्रवेशको लहरै चलेकाले समग्र विषयवस्तुलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

प्रतिक्रिया दिनुहोस !