गलेश्वर ।  धौलागिरि क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ ।

साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानवनिर्मित र प्राकृतिक पर्यटकीयस्थलको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो । कास्कीको नयाँ पुल तरेपछि सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जन बढी पर्यटकीयस्थलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन् ।

राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीयस्थल घोडे पानीदेखि लिएर म्याग्दीको टोड्के, खयरबराह, करबाकेली, राम्चे, लभ्लीहिल, गलेश्वर, महारानी थान, ताकमकोट, ज्यामरुककोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धामलगायत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन् ।

त्यसैगरी बागलुङ कालिका, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट, सालग्राम सङग्रहालय जस्ता मानवनिर्मित धार्मिकस्थल तथा आध्यात्मिक केन्द्रको व्यवस्थापन र प्रचारप्रसारले धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयवासीले बताएका छन् । त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ ।

त्यसैगरी हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमशृङ्खला, ढुम्बा ताल, कागबेनी, हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीयस्थलले धार्मिक तथा पर्यावरणीय पर्यटकको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताउनुभयो ।

यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यले पनि चिनाउन थालेको बागलुङका पत्रकार डम्मरबहादुर बुढामगरले बताउनुभयो ।

करिब डेढवर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्य पुनः तङ्ग्रिन थालेका छन् । कोरोनाकाबीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रमा संरचना निर्माण भएका छन् । लगानीकर्ताले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन् ।

करिब दुई वर्षअघि सञ्चालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोचमा बनेकोे विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुङ्गा सावित भएको छ । द क्लिफ प्रालिमार्फत् सञ्चालनमा आएको बञ्जीजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड खर्च भएको द क्लिप प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।

कालीगण्डकीदेखि पुलको उचाइ २२८ मिटर छ ।

त्यसैगरी बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको छ । यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो छ । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाह्य पर्यटकसमेत आउने गरेको स्थानीयवासीको भनाइ छ ।

पुल रु सात करोड ९७ लाख ८६ हजारमा निर्माण भएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !