चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनमा  आइतबारबाट म्यादी प्रहरीको आवेदन खुलेसँगै म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूको भीड लागेको छ ।

स्थानीय तहको निर्वाचन–२०७९ लाई लक्षित गर्दै आजबाट देशभर म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि दर्खास्त दिन आब्हान गरेको छ । आवेदन खुलेको पहिलो दिनमा नै म्यादी प्रहरीको लागि दर्खास्त दिन युवाहरुको भीड लागेको छ ।

सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीमा भर्ना खुलाएको छ, भन्ने चितवन जिल्लाबाट १७०९ जनाको लागिमात्रै  आवेदन खुला गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । उनका अनुसार इच्छुक व्यक्तिले आजदेखि चैत ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर दर्खास्त दिन सक्नेछ ।

म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले दर्खास्त बुझाउन सक्ने अधिकारीले बताए । नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने उनको भनाइ छ ।

छनोट प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत सात हजार २००, पोशाक र अन्यखर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !