काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन्।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका थिए।

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्। त्यसलाई स्वभाविक रूपले लिनुपर्छ।’

उनले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए।

प्रतिक्रिया दिनुहोस !