दमौली ।  तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।

कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो ।

पीडितपरिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । सोही विरोधमा स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका हुन् । श्रेष्ठ विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए ।

छात्रावासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नदिई छात्रावास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नदिइ शव लगेको पीडित पक्षको आरोप छ । स्थानीयवासी सीताराम बजगाईँले यसअघि किटानी जाहेरी लिने सहमतिपछि आन्दोलन स्थगन भए पनि अर्को दिन प्रहरी कार्यालयमा पुग्दा प्रहरीले किटानी जाहेरी नलिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !