चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । चोरी भएको मोटरसाइकलको पिछा गर्दै जाँदा तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनको कालिका नगरपालिका–५ पदमपुरका अन्दाजी १८ वर्षीय वरुण महतो, सोही ठाउँका २६ वर्षीय मनोज दमै र कालिका–७ का ३३ वर्षीय काञ्जालाल भन्ने बाङदोर्जे लामालाई फागुन १९ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकाअनुसार पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

गएको १२ गते लंकलाइनमा पार्किङ गरिराखेको ग ७ प ८०७९ नं.को डिस्कभर मोटरसाइकल र ना ४० प ८८९७ नं.को होण्डा कम्पनीको स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्कुटरसहित चोरीमा संलग्नलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !