चितवन । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव एक दिनका लागि थप गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १५ गतेदेखि २३ गतेसम्मका महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवप्रति दर्शकको आर्कषण बढ्दै गएपछि फागुन २४ गते एक दिनका लागि थप गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

फागुन २४ गते नारी दिवससमेत परेको छ । नारी दिवसको दिन परेका कारण सो दिन महिला आमा दिदीबहिनीहरुको सम्मानका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए ।

महोत्सवको आठौँ दिन आइतबार १५ हजारले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । आइतबार १५ हजारले अवलोकन गरेको र अपेक्षाकृत आर्थिक कारोबार भएको संघका उपाध्यक्ष राममणि थपलियाले जानकारी दिए ।

महोत्सवअन्तर्गत आयोजना गरिएको भलिबल प्रतियोगिताको आइतबार दोस्रो चरणको खेल भएको छ । सोमबार सेमिफाइन खेल हुने र मंगलबार फाइनल खेल हुनेछ ।

यस्तै, महोत्सवको सांस्कृतिक कार्यक्रमअन्र्तगत चर्चित गायक बद्रि पंगेनी र गायिका निशा लामाले प्रस्तुति दिएका थिए । सोमबार गायक रविन लामिछाने र गायिका रिना केसीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा करिब तीन लाखले अवलोकन गर्ने र १५ करोडको कारोबार हुने अनुमान गरिएको छ । ४२५ वटा स्टल रहेको सो महोत्सवमा कृषि, व्यापार, आइटी, बालउद्यानलगायतका परिसरहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !