
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा मौन रहे पनि पार्टी सदस्य भीम रावलले आइतबार प्रतिनिधि सभाको बैठकमा त्यसको विरोधमा आफ्नो धारणा राखेका छन् ।
सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरे पनि रावललाई आफ्नो धारणा राख्न सभामुख सापकोटाले ५ मिनेटको समय छुट्याएका थिए ।
एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिँदै नेता रावलले प्रश्न गरे‚ ‘यो सार्वभौम संसद्ले यस्तो राष्ट्रघाती सम्झौताको पक्षमा बोल्छ कि देशको पक्षमा बोल्छ ?’
एमसीसी सम्झौता स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको स्वाधीनताविरुद्ध भएको उनले बताए ।
विपक्षी पार्टीले संसद्मा अवरोध गरिरहेको बेला संसद्ले उक्त सम्झौता टेबल गर्न नहुने भन्दै नेता रावलले भने‚ ‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला टेबल कसरी हुन सक्छ ? यो विषय नेपालको स्वाधीनता‚ स्वाभिमान र आत्मनिर्णयसँग सम्बन्धित भएकाले यसमा राष्ट्रिय सहमति र नेपाली जनताको भावनाविपरीत टेबल गरिने कुरा आपत्तिजनक छ ।’ यस्तो सम्झौता संसद्मा टेबल गर्नका लागि दुईतिहाई मत चाहिने र यदि सो नभए संघीय कानुनबमोजिम गर्नुपर्नेमा यस्ता कानुनलाई कुल्चिएर अगाडि बढ्नु आपत्तिजनक भएको नेता रावलले बताए ।