काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता संसदमा टेबुल हुन नसक्ने दाबी गरेका छन् ।

नेता खनालले सम्झौता परिमार्जन गर्ने निर्णयमा भएको सहमति पार्टी निर्णयको स्प्रिट अनुसार नभएको बताएका छन् ।

पार्टीको दोस्रो वरियतामा रहेका खनालको असहमतिसँग नेकपा एसभित्र एमसीसीको विषयलाई लिएर देखिएको मतभेद सतहमा आएको छ ।

‘हिजोको स्थायी कमिटीको बैठकमा कुनै प्रकारको विभाजन थिएन । तर आज जे कुरा भएको छ त्यो हिजो निर्णयको स्प्रिरिट विपरित छ’ खनालले भने, ‘परिमार्जन नगरिकन एमसीसीलाई अघि बढाउनै सकिन्न भनेर शनिबारको स्थायी कमिटीको बैठकले निर्णय गरेको हो । अहिले टेबुल सेबुल गर्ने निर्णय हो भने यो टेबुल गर्ने निर्णय भनेको बचकना निर्णय हो । यो विदेशीहरुको दबाबमा झुक्ने कुरा हो ।’

खनालले ३ कारणले एमसीसी अघि बढ्न नसक्ने बताएका छन् । ‘हामीले पास गरेको दस्तावेजले यो एउटा करार सम्झौता मात्रै हो भनेर भनेको छ । यस्तो कुराहरु संसदमा लगेर अनुमोदन गर्नुपर्ने जरुरत नै हुँदैन’ उनले भने ‘दोस्रो कुरा हाम्रो संविधानको धारा २७९ बमोजिम संघीय कानून बनाइकन त्यस्ता कुरा अनुमोदनमा लैजाने सकिदैन भन्ने कुरा स्पष्ट छ । त्यस्तो ऐन बनेको छैन । तेस्रो कुरा हाउस खुलेकै छैन प्रतिपक्षी दलले बन्द गरेको छ ।’

प्रतिक्रिया दिनुहोस !