काठमाडौँ ।  काठमाडौँका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागुऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागु औषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी, आप्रवासी कामदार र कैदीबन्दी एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् ।

नेपालमा सूईद्वारा लागु पदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरू जोखिममा परेका समूहभन्दा उच्च छ । महिला –पुरुषबीच हुने असुरक्षित यौनसम्पर्कका माध्यमबाट नै ७६ प्रतिशतभन्दा बढी एचआइभी सङ्क्रमण हुने गरेको पाइएको छ । नेपालमा एक वा सोभन्दा बढी एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर पाँच प्रतिशतभन्दा बढी तर सामान्य जनसङ्ख्यामा एक प्रतिशतभन्दा कम छ ।

आफूलाई सङ्क्रमण देखिएपछि शुरुमा त ती युवकले जिन्दगीका सबै आशा मारे । “१५ वर्षअगाडि अहिलेको जस्तो एचआइभीको बारेमा जानकारी पनि थिएन,” उनले भने, “त्यतिबेला एचआइभी भनेको ठूलो रोग हो भन्ने बुझाइ थियो । मलाई पनि त्यतिबेला अब म बाच्दिनँ भन्ने जस्तो लागेको थियो ।”

भाइरल लोड

एचआइभी तथा एड्ससम्बन्धी एक संस्थामा काम गर्ने उनी पनि शुरुमा यस्ता प्राविधिक कुराको जञ्जालबाट आममान्छेजस्तै सन्त्रस्त थिए तर नियमित परामर्श र औषधि सेवनबाट उनले एचआइभी सङ्क्रमणलाई पराजित गरे । उनले सन् २०११ देखि नियमित औषधि सेवन गरिरहेका छन् र अहिले सामान्य मानिससरह काम गर्न सक्छन् । उनको एचआइभी भाइरसको सङ्ख्या ३५ मात्र रहेको छ, जुन अब अरूमा सर्दैन । सङ्क्रमितका रगतमा रहेको भाइरल लोड, जुन रगतमा जति कम भयो त्यति राम्रो हुन्छ निक्र्याैल गर्नु एचआइभी उपचारका लागि एक आधारभूत तरिका हो ।सङ्क्रमणलगत्तै भाइरल लोड धेरै बढी हुन्छ तर औषधि सेवन गर्न थालेपछि शरीरले त्यसको प्रतिकार गर्न थाल्छ र तल झर्छ । भाइरल लोड हजार कपी प्रतिमिलिभन्दा बढी भयो भने एआरटीले काम नगरेको ठहर्छ । एचआइभी सङ्क्रमितको प्रतिमिलिमिटर रगतमा ३५ प्रति वा सोभन्दा बढी भाइरसको गणना गर्न सकिन्छ ।

समाज र सरकार

ती युवकले सङ्क्रमित भएपछि प्रेमविवाह गरे । अहिले उनकी पाँच वर्षीया छोरीसमेत छिन् । छोरी र श्रीमतीलाई भने एचआइभी सङ्क्रमण छैन । “म लागुऔषध दुव्र्यसनी भएको र सङ्क्रमित भएपछि सुधार केन्द्रमा छ–सात महिना बसेँ”, उनले भने, “सुधार केन्द्रबाट निस्केपछि मैले प्रेमसम्बन्ध राखेँ । अनि प्रेमिकालाई आफू सङ्क्रमित हुँ भन्ने जानकारी दिएर नै विवाहको प्रस्ताव राखेँ । स्वीकार भयो ।” अहिले उनी एचआइभी सङ्क्रमित हो भन्ने उनकी श्रीमती र आमालाई मात्र थाहा छ ।

समाजको दोषपूर्ण दृष्टिकोण र व्यवहारका कारण उनले आफ्नो अवस्थालाई गोप्य बनाए पनि उनी अहिले एचआइभी सङ्क्रमितप्रति समाजमा विस्तारै परिवर्तन आइरहेको महसुस गर्छन् । “पहिले एचआइभी सङ्क्रमित भनेपछि मानिसहरूले नराम्रो दृष्टिकोणले हेर्थे”, उनी भन्छन्, “तर अहिले समाजमा आएको परिवर्तनले पहिलेको तुलनामा नकारात्मक धारणामा अलिकति कमी आएको महसुस भएको छ ।” एकातिर समाजको धारणा त्यति सकारात्मक छैन भने अर्कातिर सरकारले एचआइभी सङ्क्रमितका लागि खासै राहत हुने खालका कार्यक्रम ल्याएको छैन । “सरकारले एचआइभी सङ्क्रमितलाई निःशुल्क शिक्षादेखि स्वरोजगारमुखी कार्यक्रम ल्याउनुपर्ने हो”, उनले भने, “ त्यस्तो नभएकाले सङ्क्रमितमा निराशा छाएको छ ।”

बर्सेनि वृद्धि

नेपालमा बर्सेनि दुई हजारभन्दा बढी नयाँ एचआइभी सङ्क्रमित थपिइरहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा दुई लाख ४२ हजार ६८९ जनाको एचआइभी परीक्षण गराउँदा दुई हजार ५७९ मा सङ्क्रमण देखिएको छ । यस्तै २०७६÷०७७ मा नयाँ सङ्क्रमित दुई हजार ४१६, २०७५÷०७६ मा दुई हजार २९८, २०७४÷०७५ मा दुई हजार १३, २०७३÷०७४ दुई हजार १११ र २०७२÷०७३ तीन हजार ६७१ नयाँ सङ्क्रमित फेला परेका थिए । थपिएकामध्ये धेरैजसो बागमती प्रदेशका नै रहने गरेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार आव २०७७÷०७८ को तथ्याङ्कमा बागमतीमा अन्य प्रदेशभन्दा एचआइभी सङ्क्रमित बढी छन् । केन्द्रका तथ्याङ्क अधिकृत वीरवहादुर रावलले सो वर्ष बागमतीमा एक हजार २११ नयाँ सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । सोही आवमा प्रदेश नं १ मा २२२, मधेशमा ५६५, गण्डकीमा २२२, लुम्बिनीमा ५११, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा २२४ नयाँ सङ्क्रमित फेला परेका थिए । तथ्याङ्क अधिकृत रावलका अनुसार बागमतीमा आव २०७६÷०७७ मा एक हजार ७५, २०७५÷०७६ मा एक हजार ६६ , २०७४÷०७५ मा ७१५, २०७३÷०७४ मा ६३८ र २०७२÷०७३ ५३४ नयाँ सङ्क्रमित फेला परेका थिए ।

विश्वमा एचआइभी तथा एड्सको सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा ‘केन्द्रीकृत महामारी’ सङ्क्रमण देखिएको थियो । यहाँ पहिलो पटक सन् १९८८ मा विदेशमा काम गर्न गएका एक नेपाली कामदारमा सङ्क्रमण देखिएको थियो । त्यसको २२ वर्षपछि सन् २०२० मा आइपुग्दा नेपालमा सङ्क्रमित ३० हजार ३०० रहेको अनुमान गरियो । तीमध्ये पुरुष १६ हजार ३१४(५४ प्रतिशत) र महिला १३ हजार ९८६ जना (४६ प्रतिशत) छन् । नेपालमा सबैभन्दा बढी १५ देखि ४९ वर्ष उमेर समूहका २० हजार १३७, ५० वर्ष उमेर समूहभन्दा माथिका आठ हजार ८९५ र १४ वर्षसम्मका बालबालिका एक हजार २६८ जनामा सङ्क्रमण छ । वयस्क मानिसमा सङ्क्रमणावस्था ०.१३ प्रतिशत छ ।

अहिले सबैभन्दा बढी सङ्क्रमित रहेको बागमतीमा पाँच हजार २१५ ले नियमित औषधि सेवन गरिरहेका छन् जहाँका १३ जिल्लाका सङ्क्रमितको उपचारका लागि एन्टिरेट्रोभाइरल उपचार (एआरटी) केन्द्र छन् । काठमाडौँमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि एआरटी केन्द्र छ । नेपालको सबैभन्दा ठूलो एआरटी केन्द्रमा दैनिक ५०–६० सङ्क्रमित औषधोपचारका लागि आउने गर्छन् । अहिले केन्द्रबाट दुई हजार सङ्क्रमितले नियमित औषधि सेवन गर्ने गरेका छन् ।

नेपालमा एचआइभी सङ्क्रमितलाई निःशुल्क औषधि वितरणका लागि ८० एआरटी केन्द्र र २० एआरभी औषधि वितरण केन्द्र छन् । यस्तै १८५ एचआइभी परामर्श तथा परीक्षण केन्द्रबाट निःशुल्क रुपमा एचआइभी परामर्श र परीक्षण भइरहेको छ ।

कर्मचारीदेखि देहव्यापार गर्नेसम्म

एचआइभीको उपचार गराउनेमा जन्मजात सङ्क्रमित हुनेदेखि वृद्धवृद्धासम्म छन् । उपचार केन्द्रका इन्चार्ज मञ्जु अधिकारीका अनुसार कर्मचारीदेखि सडकमा देहव्यापार गर्नेसम्मका मानिस उपचारका लागि केन्द्रमा जाने गरेका छन् । “पहिले सरकारी कर्मचारीहरू औषधि गराउन लाज मानेर लुकीलुकी आउने गरेका थिए,” उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमण नियमित औषधि खाएर सन्चो हुने भएपछि उनीहरू अहिले विनाहिच्चकिचाउट केन्द्रमा आउने गर्नुहुन्छ ।”

एचआइभी सङ्क्रमण भएको आशङ्का लाग्नेबित्तिकै परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो भने शुरुमा सङ्क्रमित चिच्चाउने, डराउने जस्ता क्रियाकलाप गरे पनि परामर्श दिएपछि क्रमशः आत्मबल पलाउने गरेको अधिकारीको अनुभव छ । केन्द्रमा औषधि गर्न आउनेमध्ये केहीले घरमा नभन्ने र लुकाएर औषधि खाने पनि गर्छन् । नवविवाहित पुरुषले आफ्नी श्रीमतीलाई नभन्ने तथा श्रीमतीले पतिलाई नभन्ने गरेको उदाहरणसमेत पाइएको छ । “कतिपय त परीक्षण गर्दा एचआइभी नेगेटिभ देखिए पनि विश्वास नलागेर परामर्शका लागि केन्द्रमा आउने गर्छन्,” केन्द्रका इन्चार्ज अधिकारीले भन्नुभयो, “त्यस्ता सङ्क्रमण नभएकालाई पनि परामर्श दिएर पठाउने गरेका छौँ ।”

सरकारको भूमिका

ती युवक जस्तै काठमाडौँको बालुवाटारमा बस्दै आएकी २४ वर्षीया अर्की सङ्क्रमित युवती पनि परिवारको साथ सहयोग पाएर राम्रोसँग जीवनयापन गरिरहेकी छन् । उनी जन्मिँदै सङ्क्रमित भएकी हुन् । भारतमा बस्दा सङ्क्रमित बुवाआमाबाट जन्मेकी उनको छ वर्षका उमेरमा एचआइभी परीक्षण गराउँदा सङ्क्रमण भएको थाहा भएको थियो । बुबाआमालाई एचआइभी सङ्क्रमण हुनुअघि नै दाइ–दिदी जन्मिएकाले तिनलाई भने सङ्क्रमण भएन ।

सङ्क्रमण भएको छ वर्षपछि मात्र उनले औषधि सेवन गर्न थालेकी हुन् । उनले भनिन्, “शुरुमा त मलाई सङ्क्रमण भएको भन्ने विश्वासै लागेन । मेरो रिपोर्ट नै गलत हो कि भन्ने पनि लाग्यो । आफैँले आफैँलाई स्वीकार गर्न एकदमै गाह्रो भयो ।”

उनले नियमित औषधि खान थालिन् र एचआइभीबारे बुझ्न थालिन् । अहिले उनी नियमित औषधि सेवन गर्छिन् र सामान्य मानिस जस्तै काम गर्छिन् । उनलाई विद्यालय र प्लस टु पढ्नका लागि त्यति गा¥हो नभए पनि एचआइभी सङ्क्रमित भएको कुरामा भने धेरै साथीसँगीसित खुलिनन् ।

उनले विद्यालयमा एचआइभी सङ्क्रमित बालबालिकासँग छात्रावासमा बसेर पढेकी थिइन् । प्लस टु पढ्दा मिल्ने साथीसँंग आफू एचआइभी सङ्क्रमित भएको जानकारी गराएपछि अलि सजिलो भए पनि स्नातक तहमा पढ्दासम्म पनि कहिलेकाहीँ औषधि खानुपर्दा उनलाई समस्या भई नै रह्यो । “बिहान कलेज पढाइ हुन्थ्यो । दैनिक औषधि खानुपर्ने हुन्थ्यो तर बिहानको औषधि खान एकदमै समस्या हुन्थ्यो । औषधि खान थालेपछि साथीहरूले केको औषधि खाएको भन्थे,” उनले भन्नुभयो, “कतिपय मिल्ने साथीलाई त एचआइभीको औषधि हो भन्थँे तर सबैलाई भन्दैनथे । लुकेर औषधि खानुपर्ने हुनाले कतिपल्ट त विनापानी पनि औषधि निलिदिएँ ।”

यस्तो अप्ठ््याराका बीचबाट अहिलेको अवस्थासम्म आइपुग्नमा उनलाई परिवारको ठूलो साथ सहयोग रह्यो । “एक त हाम्रा बुवाआमा नै सङ्क्रमित हुनुहुन्थ्यो । त्यसैले घरपरिवारमा हामीले एचआइभीलाई त्यस्तो ठूलो रोग मानेनौँ,” उहाँले भन्नुभयो, “परिवारको साथ, सहयोग पाएँ । अहिले त नियमित औषधि खाइरहेकाले सामान्य मानिसजस्तै जिन्दगी बिताइरहेकी छु ।”

नियमित औषधि सेवन गरे एचआइभी सङ्क्रमणलाई सजिलै जित्न सकिने उनको अनुभव छ । “मधुमेह र उच्च रक्तचापका बिरामीले पनि त जिन्दगीभरि नै औषधि खानुपर्छ तर तिनले साइड इफेक्ट गर्छन्, ” उनले भनिन्, “तर एचआइभीको औषधिले गर्दैन । एचआइभीको सङ्क्रमणको औषधि नियमित खायौँ भने सङ्क्रमणलाई रोकथाम गरेर सामान्य मानिसजस्तै भइन्छ । नियमित औषधि खाए डिप्रेसनमा जानुपर्दैन ।”

यसरी सङ्क्रमितले जीवनलाई बुझिराखे पनि सरकारले चाहिँ तिनलाई समाजमा स्थापित गर्ने खालका कार्यक्रम ल्याउन नसकेको गुनासो छ । उनी पनि राज्यले त्यस्ता कार्यक्रम ल्याइदिएमा आफूले राज्यका लागि केही योगदान गर्न सक्ने ठान्छिन् । सरकारले सङ्क्रमित बालबालिकालाई पोषणको उपलब्धता र निःशुल्क शिक्षा, युवालाई आयआर्जन जस्ता कार्यक्रम सञ्चालन गरेमा आफूहरूको थप आत्मबल बढ्ने उनको भनाइ छ । उनले एचआइभी सङ्क्रमित पनि पढे–लेखेको हुनाले राज्यले तिनलाई उपयोग गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

अहिले एचआइभी पहिलाको जस्तो त्रासको विषय रहेन । औषधि खाएपछि अरू विभिन्न स्वास्थ्य समस्याका व्यक्तिले जसरी नै सामान्य जीवन बाँच्न सकिन्छ तर तिनले मधुमेह र उच्च रक्तचापका बिरामीले जसरी खुलेर औषधि सेवन गर्ने सक्ने अवस्था भने बनिसकेको छैन । खास गरी समाजमा आफ्नो अवस्था खुलाएरै बाँच्न सक्ने अवस्था बनाउनका लागि राज्यको भूमिका निकै महत्वपूर्ण हुने सङ्क्रमितको भनाइ छ । “सरकारले सहयोग गरिदिए हामी खुलेर आउने सक्ने थियाँै, ” युवतीले भनिन्, “हामी खुलेर समाजमा आउँदा सरकारलाई नै फाइदा हुन्छ । अहिले हामी खुल्न नसक्दा एचआइभी नेगेटिभ मानिसहरूले हामीलाई परामर्श दिइरहेका छन् । हामी खुलेर आउँदा आफैँ आफूहरूका लागि परामर्श दिन सक्छौँ ।” उनले सङ्क्रमितका लागि कानून निर्माणमा समेत आफूहरूलाई सहभागी गराउन माग गरिन् ।

औषधि सेवन रोकथाम

सङ्क्रमितको उपचारका लागि इमिनोलोमिल र भाइरोलोजिकल परीक्षण गरिए पनि आजभोलि पहिलो चाहिँ गरिँदैन । बरु दोस्रोअन्तर्गत सङ्क्रमितलाई जिन्दगीभर औषधि खुवाइन्छ, जसबाट सङ्क्रमण सर्दैन । औषधिले एचआइभीसँग लड्ने क्षमताको विकास गराउँछ र सङ्क्रमितले अन्यले जस्तै काम गर्न सक्छ । भाइरोलोजिकलअन्तर्गत औषधि सेवन गरे शरीरमा तीनदेखि छ महिनाभित्र सङ्क्रमणसंँग लड्नसक्ने क्षमताको विकास हुन्छ । भाइरल लोड एक हजार भएपछि सङ्क्रमितलाई औषधिले काम गरिरहेको मानिन्छ ।

केन्द्रका उपचार समन्वय शाखाका प्रमुख तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा पवन साहले एचआइभी सङ्क्रमितले नियमित औषधि खाए रोग नियन्त्रण गर्न सकिने तर पूरै ठीक भने नहुने बताउनुभयो । उहाँका अनुसार नेपालमा सङ्क्रमितका लागि लामिभुडिन, डोलुटेग्राभिर, टेनोफोभिर, जाइडोभुडिन, इफाभिरेन्ज, इमिट्रिसिटाबिन, नेभिरापिन, लोपिनाभिर, रिटोनाभिरलगायत औषधि उपलब्ध छन् । “औषधिको उपलब्धताले गर्दा एचआइभी एक दीर्घकालीन तर व्यवस्थापन गर्न सकिने शारीरिक अवस्थामा परिणत भएको छ । नियमित एआरटी औषधि सेवनले एचआइभी तथा एड्स नियन्त्रण गर्न सकिन्छ तर अहिलेसम्म निको पार्ने औषधि चाहिँ उपलब्ध छैन,” उहाँले भन्नुभयो, “सङ्क्रमितले जीवनभर यो औषधि नियमितरुपमा सेवन गर्नाले क्षयरोग, निमोनिया, झाडापखाला जस्ता रोगबाट बच्न सकिन्छ । ”

एचआइभीले शरीरको सङ्क्रमण तथा रोगसँग लड्ने क्षमतामा कमी ल्याउने हुनाले रोगसँग लड्न सक्दैन र व्यक्तिमा विभिन्न अरू सङ्क्रमण देखिन थाल्छन् । एचआइभीको उपचार नभएमा सङ्क्रमितपछि एड्सको अवस्थासम्म पुग्न कसैलाई केही महिना तथा कसैलाई वर्षौंँवर्ष लाग्ने गरेको उहाँले बताउनुभयो ।

डा साह एआरटी सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीले परामर्श गरेअनुसार सही मात्रा र समयमा एआरटी औषधि उपभोग गरी एचआइभी भाइरसको भार नगण्य अवस्थामा ल्याउन सकिने र त्यसो भएमा एचआइभी अरू मान्छेमा सर्ने सम्भावना निकै कम हुनाले नियमितरूपमा औषधि खानु अत्यावश्यक रहेको बताउनुहुन्छ ।

लक्ष्य छ तर विभेद

सरकारले सन् २०३० अन्त्यसँगै एचआइभी तथा एड्स महामारीको अन्त्य गर्ने लक्ष्य लिएको छ । सो अवधिसम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा रोगको अवस्था पहिचान गर्ने, ९५ प्रतिशतलाई उपचारको व्यवस्था गर्ने र ९५ प्रतिशत सङ्क्रमितमा भाइरसको भार न्यूनीकरण गर्ने (१००० कपी÷मिली) लक्ष्य छ ।

भक्तपुरस्थित एआरटी सेवा केन्द्रका परामर्शदाता सृष्टि अर्यालले एचआइभी सङ्क्रमित शुरुमा आत्तिने हुनाले परामर्शबाट नै सामान्यावस्थामा ल्याउने प्रयास गरिने जानकारी दिनुभयो । “सङ्क्रमित भएपछि आत्तिने, रुने कराउने गर्छन्”, उहाँले भन्नुभयो, “विस्तारै चारपाँच पटक परामर्श गरेपछि सामान्य अवस्थामा ल्याउने गरिन्छ । मधुमेह, क्यान्सर जस्तै जिन्दगीभर औषधि खानुपर्छ भनेर उदाहरण दिन्छौँ । अनि सङ्क्रमितले औषधि खान थाल्छन् ।” सङ्क्रमितको अवस्था हेरेर १० देखि १५ दिनका बीचमा परामर्श प्रदान गरिएको छ । “कोही सङ्क्रमित तीनचार पटक परामर्श गरे औषधि खान थाल्छन् र सामान्य अवस्थामा आउँछन्”, उहाँले भन्नुभयो, “कोहीलाई भने पाँच–छ पटकसम्म परामर्श दिनुपर्छ ।”

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घका अध्यक्ष राजेश डिडियाले सरकारले नै एचआइभी सङ्क्रमितलाई विभेद गरेको बताउनुभयो । उहाँले हरेक आवमा दीर्घरोगीलाई मासिक रु पाँच हजार मासिक भत्ता दिने निर्णय गरिए पनि विश्व स्वास्थ्य सङ्गठनले दीर्घरोगीको सूचीमा राखेका सङ्क्रमितलाई सो रकम नदिएर विभेद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यबाट नै हामीमाथि विभेद भएको छ ।”

उहाँले सबै एचआइभी सङ्क्रमितलाई भत्ता उपलब्ध नगराए पनि सङ्क्रमणसँंगै हेपाटाइटिस बी, सी, मधुमेह जस्ता रोगसमेत भएकाहरूलाई भत्ता उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । बाँच्नका लागि सङ्घर्ष गरिरहेका सङ्क्रमितको ठुल्ठुला शल्यक्रियाको उपचार सरकारले निःशुल्क गर्नुपर्ने उहाँको भनाइ छ ।

शहरमा एचआइभीलाई लाञ्छना लगाउने क्रम घटे पनि गाउँघरतिर अझै कायमै छ । सरकारले छुवाछुतविरुद्धको अभियान चलाए जस्तै एचआइभी सङ्क्रमितविरुद्धको अभियान चलाएर सङ्क्रमितलाई समाजमा स्थापित गराउनुपर्ने आवश्यकता छ । अध्यक्ष डिडियाका अनुसार सङ्क्रमणको रोकथामका लागि औषधि निरन्तर खाए अरूलाई सर्दैन अरूलाई नसर्नका लागि २० देखि ३० कपी÷मिली भाइरल लोड हुनुपर्छ जुन सङ्क्रमणका लागि नगण्य हो ।

सरकारको भने डिडियाले गुनासो गरेभन्दा ठीक विपरीतको जिकिर छ । वागमतीका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर न्यौपानेले आफूहरूले एचआइभी सङ्क्रमितको रोकथाम र नियन्त्रणमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार औषधि वितरण, परामर्श, भेदभाव हटाउने काम र गर्भवतीको एचआइभी परीक्षण भइरहेको छ ।

उहाँले अझै पनि समाजमा एचआइभी सङ्क्रमितप्रति गर्ने लाञ्छना कायम रहेको स्विकार्दै न्यूनीकरण गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जिकिर गर्नुभयो । उहाँका अनुसार एचआइभी तथा एड्स रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले वार्षिक रु ५० लाख बजेट छुट्याए पनि कम भएकाले सरकारले चाहेजस्तो कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

प्रदेशको सो अवस्था रहे पनि यस क्षेत्रमा सङ्घीय सरकारले पनि बजेट छुट्याएको छ । केन्द्र सरकारले रु ५५ करोड एचआइभी तथा एड्स रोग रोकथामका लागि बजेट विनियोजन गरेको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले जनाएको छ । अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले पनि नेपालमा एचआइभी रोकथाम र नियन्त्रणका लागि कार्यक्रम चलाइरहेका छन् । उनीहरूले वार्षिक एक करोड ३० लाख अमेरिकी डलर खर्च गर्ने गरेका छन् ।

सरकारी भूमिकाकै कुरा गर्दा एचआइभी सङ्क्रमित अठार वर्षमुनिका बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक रु एक हजार प्रदान गरिँदै आएको छ । केन्द्रका चिकित्सक डा केशव देउवाले सङ्क्रमितमा उपचारको पहुँच पुगेकाले रोकथाम र नियन्त्रण बढेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले एआरटी र परामर्श केन्द्र धेरै रहेकाले सङ्क्रमितले आफैँ गएर उपचार गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !