काठमाडौँ ।  नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।

युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित भएको थियो ।

युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्यमापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिनुभयो । उपमहासचिव फुँयालले माघमा नै महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !