बनियानी ।  झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) जनयुद्धकी घाइते योद्धा हुनुहुन्छ । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उहाँले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गर्नुभयो ।

विसं २०३८ माघ १० गते तेह्रथुम आठराई–५ छातेढुङ्गा (तत्कालीन छातेढुङ्गा गाविस–६)मा आमा धनमाया लिम्बू र बुवा जयबहादुर लिम्बूकी माइली छोरीका रूपमा सुशीलाको जन्म भएको हो । बुवा जयबहादुर भारतीय सेना हुनुहुन्छ । उहाँ सानैदेखि हक्की र निडर स्वाभावकी हुनुहुन्थ्यो । थिचोमिचो नसहने र नगर्न दिने क्रान्तिकारी स्वभाव उहाँको विशेषता नै हो । त्यसमा पनि तेह्रथुमको आठराई कम्युनिष्टहरूको जग भएको ठाउँ । “गाउँमा साना–ठूला कार्यक्रम भइरहन्थे”, सुशीलाले विगत सम्झिनुभयो, “आठराईमा कम्युनिष्टहरूको प्रभाव धेरै थियो, कम्युनिष्टका गतिविधि धेरै हुन्थ्ये त्यतिबेला ।”

आठ वर्षको हुँदा विसं २०४६ को आन्दोलन सफल भएपछि ¥यालीमा सहभागी भएको उहाँको स्मरण ताजै छ । “मलाई दाजु–दिदीहरूले ¥यालीमा लानुभएको थियो”, आठ वर्षको हुँदाको बाल्यकालीन अतीत सम्झँदै उहाँले भन्नुभयो, “त्यतिबेला एक घण्टाको बाटो सकिनसकी हिँडेकी थिएँ, त्यसपछि हरेक गतिविधिमा सहभागी भएर अनेरास्ववियुमा संलग्न हुँदै राजनीतिक जीवन अघि बढाएँ ।”

सुशीलाका बुवा कट्टर कम्युनिष्ट हुनुहुन्थ्यो । पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भएकाले पनि उहाँलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरणा मिल्यो । सानै भए पनि कम्युनिष्ट राजनीति बुझेकाले उहाँको मन त्यता तानियो । पत्रपत्रिका पढ्न रुचि राख्ने सुशीलाले विद्यालयको पुस्तकालमा ‘नारी बन्धन र मुक्ति’ भन्ने पुस्तक पढ्नुभयो । त्यसपछि उहाँलाई राजनीतिक क्रान्तिमा होमिन थप हौसला मिल्यो ।

“हाम्रो परिवारमा महिलालाई त्यस्तो छेकबार थिएन, प्रायः जनजातिमा महिलालाई त्यस्तो बन्धनमा राखिँदैन”, उहाँले भन्नुभयो, “तर, हाम्रो समाज त्यस्तो थिएन, धेरै महिला दिदीबहिनी शोषण र दमनमा पर्नुभएको थियो, महिला मुक्तिका लागि पनि म विद्रोहमा सहमाहित भएकी हुँ ।”

माओवादी धनीलाई लुट्ने, ठग्ने, मार्ने, महिला केटाकेटीलाई देख्नेबित्तिकै लाने पार्टी हो भनेर उहाँले सुन्नुभएको थियो । दाजु र दिदीसँग बुझ्दै जाँदा गरिबको पार्टी भन्ने थाहा पाएपछि माओवादीमा लाग्न प्रेरणा मिलेको उहाँको भनाइ छ । “दाजु–दिदी पार्टीको सम्पर्कमा आइसक्नुभएको रहेछ”, उहाँले भन्नुभयो, “त्यसपछि उहाँहरुबाटै सबै कुरा बुझियो ।”

महिलाको साँघुरो घेरा हटाउन, नारी मुक्ति र गरिब धनीको विभेदको खाडल अन्त्य गर्न मूल जरो नै राज्यसत्ता परिवर्तन नगरी नहुने बुझेपछि १७ वर्षको किशोरावस्थामै उहाँ तत्कालीन नेकपा (माओवादी)को पूर्णकालीन सदस्य बन्नुभयो । विसं २०५६ मा माओवादी आवद्ध उहाँ विसं २०५७ जेठदेखि हतियारबद्ध भएर हिँड्ने थाल्नुभएको हो । युद्धमा होमिँदा उहाँ कक्षा ९ मा पढ्दै हुनुहुन्थ्यो । विसं २०६२÷६३ को खुला राजनीतिक परिवेशपछि मात्र उहाँले एसएलसी पास गर्नुभएको हो । विसं २०५८ मा युद्धविराम भएपछि उहाँ पार्टीको तेह्रथुम जिल्ला कमिटी सदस्य बन्नुभयो ।

हात गुम्दाको क्षण उहाँकै शब्दमा, “फौजी कारबाही गोपेटार हान्ने कुरा थियो, युद्ध मोर्चामा सहभागी भएर भिडेर आएका नौ जना घाइतेलाई हाम्रो जिल्ला पार्टीलाई जिम्मा लगायो, बाटोमा उपचार गर्दै लैजाँदा मुभ गर्ने बेलामा मङ्सिर १४ गते सेनाले चौतर्फी घेरा हालेर आक्रमण ग¥यो, घाइते भएका नौमध्ये एक जना रोशनसहित सबै बित्नुभयो, हामी बसेको सेल्टरमा जम्मा ३१ जना थियौँ । घाइतेसहित १७ जना बित्नुभयो, म घाइते भएँ, दुवै हात र एउटा खुट्टामा गोली लाग्यो, देब्रे हात छियाछिया भयो, त्यहाँबाट भागेर ओढारमा गएर लुकियो, हातमा नशा थियो तर उम्किने अवस्था थिएन, चारैतिरबाट सेनाले घेरा हालेको थियो ।”

त्यतिबेला अस्पताल पनि जान सक्ने अवस्था नरहेको उहाँ सुनाउनुहुन्छ । “त्यहाँबाट उपचारका लागि पाँचथर पु¥याइयो, पाँच–छ दिन भइसकेकाले हात कुहिसकेको थियो, हड्डी पूरै फुटेको थियो, तर नशाचाहिँ थियो, पाँचथरमा प्राथमिक उपचारपछि बल्ल तीन महिनामा सुनसरीको धरानमा आएर शल्यक्रिया गरियो, त्यसपछि छ महिना जति आराम गरियो”, उहाँले सम्झिनुभयो ।

सेनाको गोली लागेर घाइते हुँदा पानी पनि खान नपाएको त्यो समय उहाँको जीनवको सबैभन्दा कठिन समय थियो । “भोक–प्यास र शारीरिक पीडा ! सोच्दा पनि आङ सिरिङ हुन्छ”, उहाँले भन्नुभयो, “यो मेरो युद्धकालीन समयको सबैभन्दा पीडादायी समय थियो ।” आफूले कष्ट सहे पनि आज नेपाली जनताले गणतन्त्र पाएकामा उहाँलाई खुसी लागेको छ । “अहिले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा विभिन्न लिङ्ग, क्षेत्र, समुदायमा पहुँच स्थापित हुँदै गएकामा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “सङ्घर्ष सफल भएको आभाष भएको छ ।”

विसं २०६४ मा संविधानसभा सदस्य बनेकी उहाँको पहिलो मुद्दा नै महिला समानता थियो । एउटा हात गुमाए पनि संविधान लेख्न सफल हुनुभयो उहाँ । संविधानमा उहाँको माग ५०–५० प्रतिशत हो, तर ३३ प्रतिशत मात्र भए पनि महिला सहभागिता सुनिश्चित भयो, सबै जातजातिले समान अधिकार स्थापित भयो । त्यसलाई उहाँ महान् जनयुद्ध सफलता ठान्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !