दमौली ।  तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि १६ वटा टावर तयार गरिएकोे छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म १६ वटा टावर तयार गरिएको हो ।

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तीव्रगतिमा चलिरहेको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ३५ वटा टावरको जग हाल्ने काम भइसकेकोे छ ।

प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिने भएको छ । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको र त्यसका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने भएको हो ।

प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभागमा पठाइएको छ । त्यसका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण गरिएको छ ।

आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेकामा सबैभन्दा ढिलाइ भएको प्याकेज–१ अन्तर्गतको कामका लागि भने गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज–१ अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायत काम गरिने भएको छ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्शन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

आयोजनाको प्याकेज–१ (हेडवक्र्स) निर्माणकार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा गरिएको खरिद सम्झौता रद्द भएपश्चात कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु प्रभावकारी नभएकाले अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रोपटक बोलपत्र आह्वान गरिएको थियो ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । उक्त प्याकेजअन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायत काम गरिरहेको छ । सिनो हाइड्रोले पाँचवटा सुरुङको काम सकेको छ । एक सय ९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । बाँधबाट पानी ल्याउने एक हजार ४०० मिटरको सुरुङ खन्ने काम जारी छ ।

आयोजनाको बाँधस्थलको जलाधार क्षेत्र १५०२ वर्ग किमी रहेको छ । उक्त नदीको अनुमानित औषध बहाव १०७.७ घनमिटर रहेको र सेती नदीको अनुमानित वार्षिक थेग्रयान दर ३७६६ घनमिटर प्रतिवर्ग किमी रहेको छ । आयोजनामा थेग्रयान बगाउने प्रविधि अपनाइएकाले जलाशयको सञ्चालन आयु करिब १३७ वर्ष हुने अनुमान गरिएको छ । एक सय ४० मिटर बाँधको उचाइ रहने आयोजनाको भूमिगत विद्युत्गृहको लम्बाइ ८९ मिटर, चौडाइ २२ मिटर र उचाइ ४४ मिटर रहनेछ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने भएकामा एशियाली विकास बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारको विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !