काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले यही माघ १६ गते आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, “हुम्लामा एउटी आमाको छैटौँ छोरीलाई जन्म दिएको पाँच घन्टामा मृत्यु भएको छ । सरु सुवेदीजीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गरेको छ ।”

उहाँको स्टाटसमा धेरैको प्रतिक्रिया आएको छ । मृतक सुत्केरी आमाप्रति श्रद्धाञ्जलिका शब्द त छँदैछन्, त्यसबाहेक ती १४ दिनकी छोरीलाई सहयोगका सामान्य प्रतिबद्धता पनि त्यहाँ आएका छन् । त्योभन्दा पनि यस्तो कार्यका लागि अघि सर्ने तुलसादेवी हरिहर फाउन्डेसन सञ्चालन गरिरहेकी सरु सुवेदीलाई धेरैले धन्यवाद दिएका छन् ।

गणेश पोखरेलले लेख्नुभएको छ, “तुलसालय र सरु सुवेदीका यस्ता महान् कार्यका लागि जति प्रशंसा गरे पनि कम नै हुन्छ”, शान्ता नराल लेख्नुहुन्छ, “सरु बहिनीसँग हाम्रो कुरा भएको थियो, त्यति सानो बच्चा ल्याउन कसरी सम्भव होला भन्ने लागेको थियो । आखिर उहाँले आँट्नु नै भयो, सबैको आमा भनेकै अर्थ यही हो ।”

हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले पुस २९ गते छैटौँ सन्तान छोरी जन्माइन् । तर छोरीको मुख पनि राम्रोसँग हेर्न नपाई प्रशव पीडामै आमाको निधन भयो । धर्तीमा ओर्लिएको केही बेरमै आमाले आफूलाई छाडेपछि नवजात शिशुको त बिचल्ली हुने नै भयो । अब बिचल्लीका दिन उनका दिदीका पनि सुरु भए । बाबु गोरख छत्याल गरिब परिवारका र त्यसमा पनि दमका बिरामी । अब त झन् श्रीमती नै नरहेपछि त्यो नवजात शिशुसहित ६ छोरी कसरी पाल्नु रु त्यसपछि उनका आफन्त र दाजुभाइले नै खोज्नथाले ती बच्चा पाल्ने दाता ।

गोरखका आफन्त बताउने कमल छत्यालले सरु सुवेदीलाई फोनमा ती शिशुबारे जानकारी गराउनुभयो । उनी १४ दिनकी मात्र थिइन् । पछि स्थानीय तीर्थ रोकाया र जयराज छत्यालले पनि भनेपछि ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदीलाई तुलसालयमा ल्याउने निधो सरुले गर्नुभयो ।

“बच्चीको अवस्था सुन्दा जतिसक्यो चाँडै काठमाडौँ ल्याउन मन लागिसक्यो तर दुई हप्ता मात्रकी उनीसहति तीन जना बच्चालाई हुम्लाबाट जहाजमा नेपालगञ्ज हुँदै कसरी यहाँ ल्याउने भनेर मनमा तनाव सुरु भयो । अनि खर्चको समस्या फेरि छँदैछ । त्यसपछि ती छोरीहरुलाई यहाँसम्म ल्याउन सहयोगको याचना गरेर फेसबुकमा लेखेँ । केही रकम सहयोग आयो र बाँकी आफैँले जुटाएर नेपालगञ्जबाट जहाजमा राखेर काठमाडौँ ल्याएँ”, सरु भन्नुहुन्छ ।

अहिले सरुको ललितपुर नख्खुडोलस्थित तुलसालयमा ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदी छन् । २१ दिनकी बच्चीलाई आफैँले काखमा राखेर ल्याएकी सरु उनको हेरचाहमा आफैँ खट्नुभएको छ । अल्पायुमै निधन भएकी आफ्नी आमा तुलसादेवीको स्मृतिमा सरुले सो तुलसालय आश्रम स्थापना गर्नुभएको हो । अहिले त्यस आश्रममा यस्तै अनाथ र गरिब परिवारका १८ जना बालबालिका छन् । यहाँ २९ दिनकी ती शिशुदेखि ७२ वर्ष उमेरका ३० जना छन् । उहाँले तुलसालय हरिहर फाउन्डेशन स्थापना गरी अनुदान र सहयोगका भरमा ती ३० जनाको लालनपालन गरिरहनुभएको छ । आफ्ना जन्मदिन, वैवाहिक वर्षगाँठदेखि अन्य अवसरमा यहाँ मानिस गएर ती अनाथलाई भोजन गराउनेदेखि आर्थिक सहयोग गर्ने गर्दछन् ।

संयोग पनि कस्तो प¥यो भने उहाँकी छोरी हृया २४ वर्ष पुगेकै दिन ती २१ दिनकी शिशु तुलसालय प्रवेश गरेकी छिन् । “मलाई त २४ वर्षपछि मेरो अर्को सन्तान हुम्लामा जन्मिइजस्तो लागेको छ, मेरा लागि यो साक्षात् भगवान् नै हो”, सरु भन्नुहुन्छ । जन्मिएदेखि रोइरहेकी उनी सरुको काखमा आएपछि शान्त भइन् । सरु भन्नहुन्छ, “कस्तो अचम्म भने नेपालगञ्ज विमानस्थलमा उ मेरो काखमा आएर यसो मेरो मुखमा के हेरेकी थिइ, चुप लागिहाली । एकछिन मुखमा टलटल्ती हेरी अनि रोइन् । मलाई त लाग्यो उसले बल्ल आमा पाई । त्यसैले म पनि उसलाई मेरी कान्छी छोरी भनेकी छु ।”

उनको न्वारन भएको छैन । भोलि शुक्रबार ३० दिनका दिन उनको न्वारनको तयारी गर्दै हुनुहुन्छ सरु । नख्खुडोलमा साँघुरो भएर भक्तपुरको चाँगुनारायणमा हालै आश्रम सारिएको छ । सरुले भन्नुभयो, “भोलि छोरी ३० दिनकी पुग्छे, उसको न्वारन गर्ने र आश्रमको घर सरेको पूजा पनि लगाउने तयारीमा छु” बिहीबार बिहान सरुले सुनाउनुभयो । काठमाडौँ ल्याउनका लागि गराइएको जन्मदर्तामा प्रकृति नाम राखिएको रहेछ । तर सरुले उनको नाम स्तुति राख्ने सोच्नुभएको छ । स्तुति नाम किन रोज्नुभयो रु सरु भन्नुहुन्छ, “तुलसालयको यो कान्छो सन्तानमार्फत् म नेपाली आमाहरुले यसरी छोराकै लागि छ÷छ छोरी जन्माउनुपर्ने अवस्था अब नआओस् र कुनै बाबुआमाले पनि यसरी आफ्नो सन्तान पाल्न नसक्ने अवस्था नरहोस् भनेर मैले भगवानलाई स्तुती गरेको छु । त्यसैले उसको नाम स्तुती राख्ने विचार छ ।”

यसपालि धेरै हिमपात भएका समाचार आएका थिए । माघ २० गते कर्णाली र मध्यपश्चिमका कैयौँ भागमा भारी हिमपात थियो, कतै विमान नउड्ने, कतै सञ्चार सम्पर्कमै समस्या । सरु भन्नुहुन्छ, “नेपालगञ्ज पुगेर बसेँ तर उता हुम्लादेखि त्यहाँ पुग्न कस्तो समस्या । चिसो उस्तै । मलाई यस्तो चिसोमा हुम्लादेखि त्यो बच्ची कसरी ल्याइदेलान् र मैले काठमाडौँ पु¥याउँला भन्ने त्रास थियो । बच्ची हातमा समातेपछि काठमाडौँबाट लगेका न्यानो कपडाहरु लगाइदिएँ । डाइपर त लगाइदिएका तर कति दिनदेखि दिसा सफा नगरेको । सबै सफा गरेँ । मेरो हातमा आएपछि त उ केही क्षण रुन पनि छोडी, अनि केही सहज भयो । काठमाडौँ ल्याएर अहिले उसैको स्याहारमा छु । एकछिन काख छोड्यो भने रुन थाल्छे, समात्नै पर्छ । हुनतः आश्रममा १८ छोराछोरी छन् तर उसैको माया बढी लाग्छ । अनि अरु सबैले पनि बहिनी भनेर माया गर्न थालेका छन् ।”

हुम्लादेखि काठमाडौँसम्मको यात्राका लागि सरुलाई केही सहयोग प्राप्त भएको छ । हुनतः आश्रममा उहाँका १८ छोराछोरी छन् तर ती तीन दिदीबहिनीको लालनपालनमा उहाँलाई सहयोग आवश्यक छ । “इल्या भट्टराई दिदी, दाजु अशेष मल्ल र भाउजु अनि अमेरिकाबाट सरला दिदीले सहयोग र आँट दिनुभएको छ । बच्चीलाई वर्षदिनको दूध व्यवस्था भएको छ । भगवानले तँ आँट म पु¥याउँछु भन्छन् रे, हेर्दै जाउँ । यी लालाबालको भविष्यका लागि सबैको सहयोगबाट म लागि नै रहनेछु”, सरु भन्नुहुन्छ । ‘‘बाहिर समस्या जेजति भए पनि आश्रमका १८ सन्तानले आमा भनेर बोलाउँदा निकै खुसी लाग्छ, अनि सबै पिरपर्का नै बिर्सन्छु’’ सरु सुनाउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !