दमौली ।  व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले आजदेखि नगरक्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन थालेको हो ।

पहिलो चरणमा आज व्यास नगरपालिका–२ स्थित जनजागृति टोलमा निर्माण गरिएका संरचना हटाइएको छ । स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशिला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेका संरचना वडाध्यक्ष काशिराम श्रेष्ठको उपस्थितिमा नगरपालिकाले भत्काएको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन पटक–पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काइदिएको नगरपालिकाका घरनक्सा शाखाका नासु भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो ।

नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई सूचित गरेको थियो । उक्त सूचना जारी भएको एक महिना पुग्दा पनि नगरपालिकाले निर्णय कार्यान्वयन नगरेको भन्दै सञ्चारमाध्यमको तर्फबाट दबाब सिर्जना गरिएपछि नगरपालिकाले घरटहरा भत्काउन थालेको हो ।

नगरक्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व भएकाले अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइने जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ । नगरभित्र सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको छ । ४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !