सर्लाही ।  गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।

बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भन्नुभयो ,“विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन । ” प्रतिकिलो रु २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रु १५ मा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ ।

किसानले आलु व्यापारीलाई प्रतिकिलो रु १६ मा खेतबाटै बिक्री गरिरहेका छन् । बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल रामले भन्नुभयो,’“आलु लगाउने समयमा युरिया मलको अभाव भयो । ”

जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ ।

जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !