चितवन । चेपाङ जातिको उत्थान र सहयोगमा खटिएकालाई सम्मान गरिएको छ । गाँमवेशीको चेपाङ संरक्षण केन्द्रले चेपाङको क्षेत्रमा सहयोग गर्दै आएका विभिन्न क्षेत्रमा सहयोग गरेकालाई सम्मान गरेको हो ।

केन्द्रले नेपाल हेल्प संस्थाका कार्यकारी निर्देशक मिलन ढकाल, जापानमा बसोबास गर्दै आएका रत्ननगर डुम्री चोकका दिपकबाबु नेपाल, साइराम डेण्टल क्लिनिकका संचालक डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपाने, संरक्षणकर्मी रामकुमार अर्याल, रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठलाई चेपाङको सारथीको रुपमा सम्मान गरेको हो ।

केन्द्रमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले उनीहरुलाई सम्मान गरेका थिए । विकट बस्तीमा पुगेर सहयोग गरेको भन्दै सम्मान गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा सम्पादक भण्डारीले सामाजिक सेवाको कर्म गरेर धर्म गरेको भन्दै धन्यवाद दिए । ‘समाजिक सेवा भनेको धर्म हो । यही धर्मले देश बनाउँछ,’ उनले भने, ‘आफ्नाको लागि मात्रै नभई अरुको लागि समर्पित हुनेको जीवन नै सार्थक हो ।’

ढकालले नेपाल हेल्पको तर्फबाट चेपाङ बस्तीमा झण्डै करोड बराबरको राहत वितरण गरेका थिए । संरक्षण केन्द्रमा छात्रहरुको लागि आवास निर्माण गरेका छन् । त्यस्तै नेपालले जापानमा रहेर चेपाङको सहयोगको लागि अभियान संचालन गर्दै आएका छन् । विद्यालय निर्माण, चेपाङ संरक्षण केन्द्रमा भवन निर्माणको लागि सहयोग जुटाएका छन् ।

त्यस्तै डा. न्यौपाने दम्पतीले विकटको चेपाङ बस्तीमा पुगेर धेरै पटक स्वास्थ्य शिविर र राहत सहयोग गरेका थिए । संरक्षणकर्मी अर्यालले विपतको बेला राहत वितरणका लागि अभियान गरेका थिए । रोटरियन श्रेष्ठले चेपाङको क्षेत्रमा विभिन्न समयमा सहयोगका लागि समन्वय गर्दै आएका छन् ।

केन्द्रलाई सहयोग गर्ने वबी एन्टोनी र फ्रान्समा रहँदै आएका ददी सापकोटालाई पनि सम्मान गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए । ‘गरिबीको पीडामा उहाँहरुको सहयोगले मलहम लगाएको छ,’ उनले भने, ‘विकट बस्तीको मुहारमा खुसी ल्याएको छ । चेपाङको तर्फबाट सम्मान गरिएको हो । ’

प्रतिक्रिया दिनुहोस !