शिशिर सिंखडा, चितवन । 
मिति:२०७८ साल माघ १८ गते  मंगलबार
समय: बिहानको ११ बजे 
स्थान: कालिका-९, लटौली गाउँ !
>सडक मार्गको बिकास नहुदा गोर्खा, धादिङ लगायतका विभिन्न जिल्लाबाट नुन तेल लिन भैसे अथवा ठोरी जाने बाटोको रुपमा प्रख्यात गाउँ हो लटौली । लटौलीको उकालो भनेपछि सम्भवत हाम्रो बा, हजुरबाको पुस्ताले राम्रो अनुभव बटुलेको उकालो हो ।
>आज बिहान चिसो अत्याधिक छ । बाहिर निस्कदा पनि आँँत काप्ने जाडो उत्तिकै ।
>तर कालिका-९, लटौली गाउँका सिद्धीलाल चेपाङका २ नातीहरु नांगै हजुरबुबा संगैै लुट्पुटीरहेका थिए ।
म र चेपाङ अभियान्ता केपी किरण शर्मा त्यहाँ पुग्दा हजुरबुबा सिद्धीलाल डोको बुन्दै थिए । के गर्नु सर यसो डोको बुनेर  केहि पैसा जोहो गर्नपाए नुन तेल किन्न हुन्थ्यो, उनले भने ।
११ जनाको परिवार छ उनको । छोराहरु कुल्लीकाममा गएका छन, कै लिएर आयो भने १/२ महिना खान पाउने हो उनले भने । बारीको खेतीले ३ महिना खान पुग्छ यस्तै छ सर उनले ।
खान उत्तिकै समस्या छ भने लाउने पनि के भन्नू र सर देखि हाल्नु भयो, चिसो छ नातीहरुलाई जोगाउनै मुस्किल छ । यो बर्ष अलि चिसो बढेको उनले बताए ।
उनले कुरा सक्न नपाँउदै हामी उनको घर भित्र पस्यौ । खानेकुरा केहि देखेनौ, ८/१० झुत्ता मकै झुन्डिएको थियो । अन्तिम पर्दा चाहिन्छ भनेर राखेको रहेछन्  सिद्धीलालले ।
यो गाउँमा करिब ८० घर रहेको छ भने अधिकांश घरको समस्या उस्तै उस्तै छ । सोही गाउँकि सङिता चेपाङ, मदन चेपाङ होस वा सुर्यकुमारी चेपाङ सबैको समस्या उस्तै छ, घरमा अन्नको गेडो छैन ।
केहि जोहो भयो भने खोले बनाएर खान्छाै । भात पकाएर खायो भने त एकै दिनमा सकिन्छ, पानी धेरै हालेर खोले बनाए त २/३ दिनलाई पुग्छ, सुर्यकुमारीले भनिन ।
उनको श्रीमान गत असोजमा बितेपछी बालबच्चा पाल्न धौधौ छ, कसरी पेट भराउनु र ? गाउँमा काम पाउदैन, बजार जान सक्ने अबस्था छैन- उनको दुखेसो छ ।
सो गाउँमा भोकमरीले सताएको छ, चेपाङ अभियान्ता केपी किरण शर्माले भने । कोहि सहयोगी दाताहरुले बिचल्लीमा परेका बालबालिका, महिला, वृद्धबृद्धा र बिपन्न चेपाङ परिवारलाई खाद्यान्न र जाडोको कपडा उपलब्ध गराईदिन अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !