काठमाडौँ ।  प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो ।

अभियुक्तलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ । यहाँस्थित सडकमा प्र–३–०१–०२२ च ५१९५ नंको कार र बा३ख ४८१० नंको बसमा बा३४प ५६५७ नंको मोटरसाइकल ठक्कर खाई भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

आज दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार र बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !