काठमाडौं ।  नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकिएको दाबी गरेका छन्। बिहीबार ट्वीटमार्फत उनले राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको बताएका हुन्।

राष्ट्रियसभाका १९ पदका लागि भएको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले १८ सिट र एमालेले एक सिट जितेको थियो। उनले लेखेका छन्, ‘चौतर्फी घेरा तोडेर विजयी सोनाम गेल्जेन शेर्पालाई हार्दिक बधाई ! एमालेका संपूर्ण प्रतिष्पर्धी उम्मेदवार तथा सहयोगी सबैलाई धन्यवाद !’

रिमालले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने दाबी गरेका छन् । उनले निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले गठबन्धन चुनावबाट भाग्ने बहानावाजी गरिरहेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘अब हुने निर्वाचन रियल हो, जसले नयाँ जनादेशको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्। ’
संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा गठबन्धन रहेको रिमालको दाबी छ।

राष्ट्रियसभामा पहिलो ठूलो दल भने एमाले नै यथावत् छ। निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेको १७ सिट, माओवादी केन्द्रको १५, कांग्रेसको १० र एकीकृत समाजवादीको ८, जसपाको ३ सिट र राष्ट्रियसभामा जनमोर्चाको १ सिट रहेको छ।

प्रतिक्रिया दिनुहोस !