चितवन । आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो ।

खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो । तेह्रौँ दिनको कर्मसम्म बाहिर देखाएर राखिए पनि त्यसपछि त्यसको व्यवस्थापन जटिल बन्ने गरेको भुक्तभोगी बताउँछन् । कतिपयले त फ्रेम नल्याउन अनुरोध गर्ने गरेका छन् ।

पण्डित शेखर अर्याल समवेदनाको अर्थ लगाउँदै भन्नुहुन्छ, “सम भनेको बराबर र वेदना भनेको दुःख हो । यसको अर्थ तपाईँहरु बराबर दुःखी छु भन्ने हो ।” त्यही समवेदना प्रकट गर्न जाँदा किरीयापुत्रीले घरका सामग्री निकाल्न अप्ठ्यारो पर्ला भनेर घ्यू, चामल, चिनीजस्ता खाद्यान्न लगिने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला दिनमा फ्रेमसहित समवेदनापत्र लग्ने गरिन्छ ।

पण्डित अर्याल गरुडु पुराणमा भेटीका रूपमा के आवश्यक छ, त्यही वस्तु लैजानुपर्ने उल्लेख भएको बताउनुहुन्छ । लगेका वस्तु उपयोगमा नआएर राम्रो व्यवस्थापन नभएमा लैजाने र लिने दुवै दोषी हुने पुराणलाई इङ्गित गर्दै अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा समर्पण गर्दा आवश्यक नभएको वस्तु लैजानु बेकार हो ।”

सामाजिक अभियानकर्मी मीना खरेलको गत वर्ष आमाको देहावसान हुँदा १७७ फ्रेममा समवेदनापत्र प्राप्त भयो । ती फ्रेम १३औँ दिनपछि व्यवस्थापन गर्न जटिल बन्यो । घरको मन्दिरमा १०० वटा अटे भने बाँकी फ्रेम निकालेर पत्रमात्रै फाइलमा राख्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अपमान गर्न भएन, मेरो त मन्दिर थियो, नहुनेले कहाँ राख्ने ? ।” फ्रेमको सट्टामा समवेदनापत्र मात्रै लैजाँदा उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । केही थप दिन मन लागे कोषमा राखिदिँदा सदुपयोग हुने उहाँको भनाइ छ । पछिल्ला वर्षमा फ्रेम लैजाने प्रचलन बढेको उहाँ बताउनुहुन्छ । विसं २०६० मा बुवा बित्दा तीनवटा फ्रेम आएकामा अहिले निकै बढी फ्रेम आएको उहाँले जानकारी दिनुभयो ।

डा हरिशचन्द्र न्यौपानेले गत साल आमाको स्वर्गारोहणको बेला समवेदना प्रकट गर्न आउनेलाई फ्रेम नल्याउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “१३औँ दिनपछि आमाको तस्वीरलाई बोरामा राख्दा आमाप्रतिको सम्मान पनि घट्ने र लैजानेहरूप्रति अपमान हुने भएकाले हामीले फ्रेम नल्याउन आग्रह ग¥यौँ ।” कतिपयले न्यौपानेले जस्तै गरी नल्याउन अनुरोध गर्ने गरेका छन् ।

भेटिका रूपमा सङ्कलन हुने फलफूल कुहिएर खेर जाने गरेको पाइन्छ । न्यौपानेले आफ्नोमा सङ्कलन भएका खाद्यान्न मानव सेवासहितका विभिन्न आश्रममा पठाएर सदुपयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा फ्रेमलगायतका सामग्री लैजाँदा पछि व्यवस्थापन गर्न जटिल हुन्छ ।” समवेदना प्रकट खाली हात गएर मौखिकरूपमा व्यक्त गरे हुने न्यौपानेको बुझाइ छ ।

समवेदना व्यक्त गर्न आउनेहरुले भेटीका रूपमा ल्याउने चिनी, मिश्रीजस्ता वस्तु ठूलो मात्रामा सङ्कलन हुने गर्दछन् । त्यस्ता वस्तु सोही घरमा प्रयोग नभई आश्रममा दिने गरिन्छ । कतिपयले पसलमा बिक्रीसमेत गर्ने गर्दछन् । पण्डित अर्याल उपयोग नहुने वस्तु भेटीका रूपमा लैजानुभन्दा खाली हात गएर मौखिकरूपमा समवेदना व्यक्त गर्नु राम्रो हुने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !