चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो । गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको उहाँले बताउनुभयो ।

भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटबारे उल्लेख गरिएको छ । गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ । गीतको भिडियोले पनि गाउँपालिकाको सिराइचुली, चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी जलवीरे लामो झरना, इच्छाकामना मन्दिर, तामिन, दाहाखानी, काउले साठीमुरे, मुग्लिन बजार, कुरिनटार, मनकामना केबुलकार, त्रिशूली, फिस्लिङलगायतका विभिन्न पर्यटकीयस्थलको दृश्य देखाइएको छ ।

उक्त भिडियोमा गायक तथा सङ्गीतकार चेतन सापकोटाको स्वर तथा सङ्गीत सुन्न सकिन्छ । उहाँले नै निर्देशन गर्नुभएको भिडियोको छायाङ्कन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन् । साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतिक ढुङ्गेलले गर्नुभएको छ ।

भिडियोमा गायक तथा सङ्गीतकार सापकोटाले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ भने गाउँपालिका अध्यक्ष एवं गीतका सर्जक गुरुङसहित स्थानीय कलाकारलाई देख्न सकिन्छ । गीतको भिडिया र अडियो सोमबार गाउँसभाको अवसर पारेर ‘वी स्टार’ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना पर्यटकीय सम्भावना बोकेको पालिका हो । प्रचारप्रसारको अभाव र भौगोलिक विकटताका कारण पर्यक भित्र्याउन नसकेको यस गाउँपालिकामा पछिल्लो केही वर्षयता पर्यटकीयस्थलमा सडक पुगेसगैँ पर्यटकको आवागमनमा केही वृद्धि हुदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस !