चितवन । शरीरमा गतिलो लुगा छैन। च्यातिएको लुगाले चिसो थेग्दैन। अरू उपाय नभएपछि चितवनको राप्ती नगरपालिका १३ पोल्किमकी ५ वर्षीय अरीमा चेपाङको बास जतिखेर पनि अगेना छेवैमा हुन्छ। साँझ परेसँगै चिसो बढेपछि उनी अगेनु ढुकेर बस्छिन्। खाना पकाइसकेपछि पनि उनले आगो छोड्दिनन्। कहिलेकाहीँ आगो ताप्दा ताप्दै निदाउँछिन्। त्यहीँ रापमा रातको चिसो कटाँउछिन् ।

जाडो छल्न अगेनुको छेउमा सुत्ने बाध्यताको चेपाङ बालबालिकाको बाध्यता हो। जतिखेर पनि उनीहरू आगोको तापमा बस्छन्। ओढ्ने–ओछ्याउने लुगा नभएपछि अगेना छेवैमा सुत्छन्। जाडोसँगै सिरेटो बढेपछि आगो वरिपरि झुम्मिएर सुत्ने गर्छन्। दाउरा प्रशस्त पाइने हुँदा उनीहरूका लागि जाडोबाट बच्ने विकल्प नै आगो हो। ‘लुगा नभएपछि आगोमा यसरी नै रात कटाउने हो,’ अरमाकी आमा पोल्किमकी रेविका चेपाङले भनिन्, ‘कपडा किन्न सक्दैनौ। कसैले दिए लाउने हो।’

चिसो बढेपछि चेपाङ समुदाय आगोको तापेर रात कटाउँछन्। आगोको न्यानो पाएर जाडो कटाँउछन्। यसरी आगोमा नजिक सुत्दा बच्चाहरू जल्ने पनि गर्छन्। कतिपय जलेको पीडाले कराएपछि मात्रै अभिभाबक ब्युँतिएर थाहा पाउँछन्। राप्ती नगरपालिका–१२ वाक्राङकी पाँच वर्षीया सृष्टि चेपाङको आगोले हात र खुट्टा पोल्यो। तातो खोज्दै जाँदा ६ महिना हँुदा आगोले पोरेर देब्रे हातको बुढी औला छैन। त्यस्तै दाहिने खुट्टामा आगोले पोलेको सामन्य दाग छ।

चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई जाडो कटाउने पिरलो छ। बच्चादेखि उमेर ढल्केकाहरू चिसोमा बढी समस्यामा पर्छन्। न्यानो लुगा उनीहरूको लागि सपना हो। किनेर लगाउन सक्दैनन्। न अरुले नै दिन्छन्। आर्थिक अभावले अभिभावक कपडा किन्न सक्दैनन्। फाटेको लुगामा जसोतसो जाडो थेग्छन्। उनीहरूको लागि विकल्प नभएपछि आगो छेवैमा बस्छन्। हरेक वर्ष चेपाङ बालबालिका आगोको सिकार बन्ने गर्छन्। राप्ती नगरपालिका १३ का वडा सदस्य लक्ष्मण चेपाङले यो समुदायमा जाडो कटाउन लुगाफाटो किन्न नसक्दा कठ्याङ्ग्रिने गरेको बताए।

‘चिसो बढ्यो आगो नतापी उपाय नै छैन,’ उनले भने, ‘चिसोमा हामी गरिबलाई जिउनै गारोे छ। अरूले सहयोग गरिदेला भन्ने आशावादी छन्।’ चेपाङको घर साँघुरो हुन्छ। साँघुरो ठाउँमा अगेनु छेउमा सुत्दा आगोले पोलिने घटना बर्सेनि हुन्छ। चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन्। जाडोबाट जोगिनकै लागि आगोको वरिपरि सुत्ने गरेको चेपाङ अभियन्ता केपी किरण शर्माले बताए। अन्नपूर्ण पोष्टमा अनिल ढकालले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस !