महोत्तरी ।  “अहा…! आब अपन कञ्चनवन सेहो राजधानीमें समटागेल, कुछ होइत बुझाइय” (अहा..! अब हाम्रो कञ्चनवन पनि राजधानी क्षेत्रभित्र समेटिएछ, केही हुन्छ कि क्या ?) गत सोमबार प्रदेशसभा–२ ले प्रदेशको नाउँ ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ निर्णय गरेको सुन्नुभएका भङ्गाहा नगरपालिका–९ हरिणमरीका ७० वर्षीय हरिनारायण यादवले राजधानीमा पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा पथभित्रको क्षेत्र समेटिएको बुझेपछि खुशी रोक्न सक्नुभएन ।

“परम्परा सऽअपन कञ्चनवन रामसीताक वनविहारके ठाम रहल पहिचान रहबेकैल” (विगतदेखि हाम्रो कञ्चनवन रामसीताले वनविहार गरेको ठाउँ भन्ने पहिचान छँदै थियो) यादवले भन्नुभयो, “आब त प्रदेशके राजधानीमें सेहो पैरगेल, जरुर अई ठामके कुछ विकास होयत” (अब त प्रदेशको राजधानीभित्र पनि परेछ, जरुर केही विकास होला) । वनविहारका क्रममा रामसीताले फागु खेलेर उत्सव मनाएको ठाउँ मानिएको भङ्गाहा–९ को कञ्चनवन मिथिला माध्यमिकी परिक्रमाको आठाँैं दिनको रात्रि विश्रामस्थल रहँदै आएको छ ।

प्रदेशसभाले मधेश प्रदेशको राजधानी जनकपुरधाम हुने निर्णय गर्दै राजधानी क्षेत्रभित्र धनुषाको ढल्केवर हुँदै उत्तरमा पूर्वपश्चिम राजमार्ग, दक्षिणमा नेपाल –भारत सीमा, पूर्वमा कमला नदी र पश्चिममा मिथिला माध्यमिकी परिक्रमापथभित्रको क्षेत्र हुने परिभाषित गरेपछि विकासको अवसरबाट निकै पछि परेको देखिने कञ्चनवन वरपरका बासिन्दामा नयाँ आशा पलाएको छ । प्रदेश राजधानीभित्र समेटिएपछि यसभित्र बन्ने नयाँ संरचना आफ्नो ठाउँमा पनि पर्ने आशले कञ्चनवन आसपासका बासिन्दा खुशी छन् । “राजधानी भनेपछि त धेरै नयाँ संरचना बन्छन् नि !” कञ्चनवन सखुवाटोलका बासिन्दा तथा नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्नुहुन्छ, “बन्ने नयाँ संरचनामध्ये केही मात्र हाम्रो ठाउँमा परे त विकासको सम्भावनाले फड्को हाल्छ ।” यादवका कुरामा नेकपा (एमाले) भङ्गाहा–९ कमिटीका अध्यक्ष नागेन्द्र यादव र नेकपा (माओवादी केन्द्र)का बद्री यादव पनि सहमति जनाउनुहुन्छ ।

कञ्चनवन वरपरका जस्तै जिल्लाकै ध्रुवकुण्ड आसपासका बासिन्दा पनि अहिले राजधानीको कुराले दङ्ग छन् । राजधानीभित्रै परेपछि त विकास सम्भावनाका लागि आफ्नो ठाउँ पनि सरकारका आँखामा पर्ने यहाँका बासिन्दाको सोचाइ छ । “राजधानी त आब भगेल नई, सरकारके जरुर अई जगहमें आँइख पर्तै” (राजधानी त भइहाल्यो, अब यस ठाउँमा सरकारको आँखा अवश्य पुग्छ) ध्रुवकुण्ड रहेकै बलवा नगरपालिका–१० धमौराका ७५ वर्षीय मोहम्मद हासिम भन्नुहुन्छ, “आब अई ठामक ध्रुवकुण्ड, रौजा मजार आ पडौलस्थानके विकासमें जरुर रङ्ग खिलत”(अब हाम्रा ठाउँका ध्रुवकुण्ड, रौजामजार र पडौलस्थानको विकासमा अवश्य रङ खिल्नेछ) ।

ध्रुवकुण्ड, रौजामजार र पडौलस्थान बलवा नगरपालिका क्षेत्रमा पर्ने मधेश प्रदेशभित्रकै अति महत्वपूर्ण धार्मिक सम्पदा मानिन्छन् । ध्रु्रवकुण्ड सत्ययुगमा राजा उत्तानपादका छोरा ध्रुवले तपस्या गरेर भगवान् विष्णुलाई रिझाएको ठाउँ मानिन्छ, जहाँ मिथिला माध्यमिकी परिक्रमाका यात्री सातौँ दिनको रात्रि विश्राम गर्छन् । त्यसैगरी रौजामजार इस्लाम परम्पराका सुफी सन्तहरू गदाली बाबा, रहमतअली बाबा र बहारअली बाबाको अन्त्येष्टिस्थल हो । नेपाल र भारतका लाखौंँ हिन्दू र इस्लाम धर्मावलम्बी भक्तजन आफ्नो मन्नत (इच्छित चाहना) को पुकार गर्न र पूरा भएपछि भाकलअनुसार पूजा दिन रौजा पुग्ने गर्छन् । मजारमा आफ्ना व्यथा र पीडाको वर्णन गर्दै यसबाट छुट्कारा पाउन पुकारा गर्नेको जमातमा हिन्दू र इस्लाम धर्मावलम्बी बराबर देखिन्छन् । त्यसैगरी हिन्दू परम्पराका सन्त कारिख महाराजको स्थानका रुपमा पडौलस्थान परिचित छ । यहाँ पनि इच्छित चाहना माग्न र भाकल दिन भदौ, कांित्तक, पुस र चैतबाहेकका महिनामा दैनिक हजारौंँ श्रद्धालु पुग्ने गर्छन् ।

त्यसैगरी परिक्रमापथको महोत्तरी गाउँपालिकामा पर्ने मडै तपस्वी भृगु ऋषिले तप र साधना गरेको पुण्यभूमि मानिन्छ । जलेश्वर देवाधिदेव महादेव जलमा विराजमान भएकाले हिन्दू आस्थाको केन्द्र हो । यहाँको मटिहानी त्रेता युगमा रामसीताको विवाहका लागि वेदी बनाउन माटो खनिएको ठाउँ विश्वास गरिन्छ । यसैगरी लोहारपट्टी पनि परिक्रमा पथले छोएको र यसभित्रै सबै बस्ती पर्ने स्थानीय तह हो । पिपरा गाउँपालिकालाई परिक्रमा पथले नछोए पनि यसको सबै क्षेत्र परिक्रमापथभित्र पर्छ । “कतै प्रदेशसभा भवन बन्नेछन् , कतै मन्त्रालय भवनहरू..! राजधानी भएपछि अनेकानेक सम्भावना बढ्छन्, शहर विस्तारसँगै औद्योगिक विकासले पनि गति लिनेछ”, लोहारपट्टी–६ का पुराना राजनीतिक कार्यकर्ता ७० वर्षीय चन्देश्वर मण्डल भन्नुहुन्छ, “यो मीठो कल्पना र सपना मात्र हैन, विकास त यसैगरी हुने हो नि !” मण्डलको कुरा चाख मानेर सुन्नुहुने सो बस्तीकै ७५ वर्षीय बदरुलहक कवारीलाई भने आफ्नै जीवनकालमा राजधानी प्रयोजनले बन्ने कुनै संरचना हेर्न पाइन्छ कि पाइन्न भन्ने खुलदुली बढेको छ ।

“सुनली त प्रदेशके नाम मधेश आ राजधानी जनकपुर भगेल, राजधानीमे अपन ठाम लोहारपट्टी सेहो समटायल सुनली” (प्रदेशको नाउँ मधेश र राजधानी जनकपुर भयो भन्ने सुनियो, यस्तै हाम्रो बस्ती लोहारपट्टी पनि राजधानीमा समेटिएको छ रे भन्ने पनि सुनँे) बुढ्याइँले मुजैमुजा परेका अनुहारमा खुशी चम्काउँदै कवारी भन्नुहुन्छ, “अई नाममें कुछ भेल हमसब देख पायब की नई !” (यस नाउँमा यहाँ केही हुने बन्ने कुरा चाहिँ हामीले देख्न पाउने हो कि होइन) ।

गत सोमबार प्रदेशसभाले आवश्यक बहुमतले प्रदेशको नाउँ र राजधानी निर्णय गरेपछि यसबारेको चासो परिभाषित राजधानीक्षेत्रभित्र निकै बढेको छ । अशिक्षित सर्वसाधारण किसान र सामान्य गृहिणीले पनि राजधानीभित्र आफ्नो ठाउँ परेकाले ‘चकाचौध’ (रमझ) को कल्पना गर्ने गरेका छन् । “आब अपन ठाम राजधानी भगेल नई, थालकिच्चडमें आब नई चल परत, सबदिस चम्कौवा सडक बैनजायत” ( हाम्रो ठाउँ त राजधानी बन्यो नि ! हिलो र उबडखाबड बाटो अब हिँड्नु पर्दैन, सबै सडक चम्किला बन्नेछन्) जनकपुरबाट सात किलोमिटर दूरीको लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया रामपरी चौधरीले राजधानीको कुरालाई आफ्नो ठाउँसँग यसरी सोच्नुभएको रहेछ ।

जलेश्वर नगरपालिका– ५ चौडिया बस्तीका रहिमन मण्डलले प्रदेशको राजधानीमा महोत्तरी, धनुषाका परिभाषित क्षेत्रभित्र ठाउँमा कहाँ के कुराको सम्भावना छ, त्यसको निक्र्यौल गरेर सबै ठाउँले समुचित महत्व पाउने अवस्था बन्न सके राम्रो हुने प्रतिक्रिया दिनुभएको छ । “कुवाभित्रको भ्यागुताले आपूm बसेको कुवाभरिलाई नै संसार ठान्छ रे, हाम्रा नेताहरूमा त्यो नहोस्”, विगतमा पर्सापतैली गाविस छँदा उपाध्यक्ष रहिसक्नुभएका मण्डलले भन्नुभयो, “कुनै ठाउँबारे आग्रहरहित भएर हाम्रा नेताले सोचून् , हाम्रो प्रदेशको रमणीय राजधानी बन्न सकोस् ।”

राजधानी जनकपुरधामको पश्चिमी सीमा परिक्रमापथभित्र महोत्तरीका मटिहानी, जलेश्वर, बलवा, लोहारपट्टी र भङ्गाहा नगरपालिका एवं महोत्तरी र पिपरा गाउँपालिकासहित सात स्थानीय तह समेटिन्छन् । माध्यमिकी परिक्रमामा चौथो दिन मटिहानी (मटिहानी नपा), पाँचौँ दिन जलेश्वर (जलेश्वर नपा), छैटौंँ दिन मडै (महोत्तरी गापा), सातौँ दिन ध्रुवकुण्ड (बलवा नपा) र आठौँ दिन कञ्चनवन (भङ्गाहा नपा) सहित पाँच रात्रि विश्रामको परम्परा रहँदैआएको छ । जिल्लाका कुल १५ स्थानीय तहमध्ये झण्डै आधा (सात) राजधानी क्षेत्रमा समेटिँदा नयाँ बन्ने संरचनामा अवसर मिल्नसके सिङ्गो जिल्लामै सकारात्मक लहर पर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंह बताउनुहुन्छ । “कुन ठाउँ केका लागि उपयुक्त हुन सक्छन् ?” राजधानी सन्दर्भका प्रश्नमा परिभाषित क्षेत्रका सबै ठाउँको सम्भावनाबारे अध्ययन गरिनुपर्ने राय राख्दै सिंहले भन्नुभयो, “यस्तो हुन सके हाम्रो राजधानी साँच्चै सुन्दर हुनेछ ।”

राजधानी केन्द्रित नयाँ संरचना जनकपुर शहरभन्दा बाहिर बनाउन उपयुक्त हुने मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । “धनुषाका होऊ्न कि महोत्तरीका ठाउँ हुन्, परिभाषित क्षेत्र सबै बृहत्तर जनकपुर क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका ठाउँ हुन्, त्यसैले राजधानी केन्द्रित नयाँ संरचना बन्दा परिभाषित क्षेत्रभित्रका सबैतिरको भूगोललाई अवसर दिनुपर्छ”, मण्डल भन्नुहुन्छ, “नयाँ संरचनाका लागि पर्याप्त क्षेत्रफलको जग्गाको उपलब्धताको दृष्टिले जनकपुरको व्यस्त शहरी क्षेत्रभन्दा बाहिर उपयुक्त हुने देखिन्छ ।” जनकपुर–ढल्केबर, जनकपुर–मटिहानी, जनकपुर–जलेश्वर, जनकपुर–लोहारपट्टी–रौजा, जनकपुर–धनुषाधाम, जनकपुर–यदुकुहा, जनकपुर–जटही र परिक्रमापथ सडकका दायाँबायाँ राजधानी केन्द्रित नयाँ संरचना निर्माणका लागि उपयुक्त हुने मण्डलको भनाइ छ ।

राजधानी क्षेत्रलाई परिभाषित गरिँदा यिनै सम्भावनालाई नियालेरै स्थायी राजधानीबारेको प्रस्ताव बनेको मधेश प्रदेशसभाका सदस्यहरूको पनि स्वीकारोक्ति छ । “अवसर ठाउँको विकासमा महत्वपूर्ण पक्ष हो, मधेश प्रदेशको राजधानी सीमित क्षेत्रको सङ्कुचनमा नपरोस् भनेरै स्पष्ट रुपमा परिभाषित गरेर प्रस्ताव बनेको हो”, यसअघि प्रदेश सरकारमा राज्यमन्त्री रहिसक्नुभएका महोत्तरी–३ ‘ख’ का प्रदेशसभा सदस्य अभिराम शर्मा अब राजधानीको टुङ्गो लागेको प्रसङ्गमा भन्नुहुन्छ, “त्यसैले अब राजधानी केन्द्रित संरचना निर्माणका लागि परिभाषित क्षेत्रभित्रका जुनसुकै ठाउँ हुन सक्छन् , ठाउँबारे विनाकुनै आग्रहले वैज्ञानिक पुष्ट्याइँका आधार टेकेर संरचना निर्माण गरिनुपर्छ ।” राजधानी परिभाषित क्षेत्रभित्रका प्रत्येक नागरिकमा “म मधेश प्रदेशको राजधानी नगरको बासिन्दा हुँ” भन्ने गौरवबोभको अवस्था अवसरले नै सिर्जना गर्ने शर्माको थप भनाइ छ ।

आफ्नो ठाउँ प्रदेशको राजधानी क्षेत्रभित्र परेपछि सडक यातायात, खानेपानी, बिजुली, ढल व्यवस्थापन र शिक्षाको पहुँचभित्र पर्ने यस भेगका बासिन्दाले आश सँगालेका छन् । यसबाहेक स्वास्थ्य सेवा, कृषि बजार, लघु उद्यम प्रबद्र्धन र अन्य अवसर बढ्नेसर्वसाधारण बताउँछन् । महोत्तरीतर्फ मात्र नभई धनुषाका जनकपुरबाहेकका लक्ष्मीपुर बगेवा, क्षीरेश्वर, मिथिला, गणेशमान चारनाथ, धनुषाधाम, विदेह, जनकनन्दिनी र शहीदनगरसहितका स्थानीय तहमा पनि राजधानीबारेको परिभाषाले अब आफ्नो ठाउँले खास महत्त्व पाउने विश्वास जागेको छ ।

प्रतिक्रिया दिनुहोस !