काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको हो ।

उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा उपमहासचिव डा पौडेलले समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीलाई शपथ गराउनु भएको थियो । सो अवसरमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !