विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अबको अधिवेशनबाट प्रदेशको नामको टुंगो लाग्ने बताएका छन् । ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ,’उनले भने, ‘त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’

मुलुकका ७ मध्ये ६ वटा प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन् । यसअघि नै राजधानी टुंगो लगाएको प्रदेश १ ले प्रदेशको नाम भने राख्न सकिरहेको छैन । प्रदेश २ ले पनि नाम र राजधानी टुंगो लगाएपछि प्रदेश १ लाई दबाब परेको छ । विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा मंगलबार सार्वजनिक प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले अबको अधिवेशनबाट जसरी भए पनि नामको विषय टुंगोमा पुर्‍याइने बताए ।

‘प्रदेशको नामाकारणको विषय सरकारको प्राथमिकतामा छ । नयाँ सरकार गठन भएपछि संसद बसेको छैन,’ उनले भने, ‘माघ २० गतेभित्र हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामको प्रस्तावलाई अघि बढाउँछौँ । यही अधिवेशनले नामको टुंगो लाग्छ ।’

राईले नाम प्रदेशसभाले टुंगो लगाउने विषय भएको बताए । उनले भने, ‘प्रदेश सरकारका तर्फबाट नामको विषयमा सक्रिय सजकर्ताको भूमिका खेलिने छ ।’

प्रतिक्रिया दिनुहोस !