चितवन । भरतपुर अस्पतालले कोरोना संक्रमणदर  बढ्दै गएपछि सामान्य विरामीलाई अस्पताल नआउनु भनेको छ । अस्पतालमा पुस २९ गते १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । पुस ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत)मा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ ।

यो अवस्था कोभिड–१९ संक्रमणको उच्च प्रकोप रहेको भन्दै अस्पतालले सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज (शनिबार) एक विज्ञप्ति जारी गरी पिसिआर परीक्षणमा संक्रमण दर उच्च देखिएको भन्दै अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेको बताएका हुन् ।

तत्कालै अस्पताल पुग्नुपर्ने विरामी र विरामी कुरुवाले पनि हेलचक्राई नगरी जनस्वास्थ्यका मापदण्ड (सहि तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !