चन्द्रौटा ।  शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ ।

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन् ।

गतवर्ष बंैकबाट रु २५ लाख कर्जा लिएर सुरु गरेको स्थानीय जातको कुखुरापालन व्यवसायबाट कुँवर दम्पतीले आफ्नो भविष्य खोजिरहेका छन् । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ”, उहाँले भन्नुभयो । यहाँका नागरिकले स्थानीय जातका कुखुरा बढी मन पराउँछन् । तर पछिल्लो समय स्थानीय जातका कुखुरा गाउँघरमासमेत पाउन छाडेका छन् । गाउँमा पनि उन्नत जातको कुखुरा पाउन थालेपछि रैथाने स्थानीय जातको कुखुरापालनमा कमी हुँदै आएको छ ।

यसैलाई दृष्टिगत गरेर कुँवर दम्पतीले अहिले १७ कट्ठा जग्गा वार्षिक ३० हजारको दरले भाडामा लिएर स्थानीय जातका कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । “अहिले सुरुको चरणमा छ, धेरै आम्दानी गर्न सकेको छैन”, कुँवर भन्नुभयो, “यो व्यवसायबाट आफू सन्तुष्ट हुने रहर छ, ।” उहाँको फार्ममा अहिले स्थानीय जातका एक हजार ६०० कुखुरा र ३०० बट्टाई ३०० छन् । दैनिक रूपमा २०० अण्डा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म आठ लाखको कुखुरा बिक्री गरेको उहाँको भनाइ छ । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच बनाएको छु ।” उहाँलाई श्रीमती सुनिता कुँवरलगायत अन्य दुई जना कामदारले व्यवसायमा सघाउँछन् ।

कुखुरापालनबाट आम्दानी राम्रो हुने भएपनि किसानलाई केही जटिल समस्या रहेको सुनिता कुँवरले बताउनुभयो । कुखुरा चरन, औषधि उपचार, खोर व्यवस्थापन वा सुधार तथा तारबारको समस्या रहेको उहाँको भनाइ छ । हालसम्म आफूले कुनै निकायबाट सहयोग प्राप्त गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । “कुखुरापालन व्यवसायमा पनि किसानलाई अनुदान दिने भन्ने कुर सुनेको छु”, उहाँले भन्नुभयो, “ तर आफूले अहिलेसम्म कुनै अनुदान वा सहयोग पाउन सकेको छैन् ।”

धेरै लगानीबाट नै आफूले यो व्यवासय सुरु गरेको उहाँको भनाइ छ । चरनको लागि तारबारमा सहयोग पाएमा केही सहज हुने उहाँले बताउनुभयो । “अहिले नेट जालीबाट काम चलाउने गरेको छु”, उहाँले भन्नुभयो, “तारबार भएमा कुखुरा चरनमा धेरै सहजता आउने थियो । यसका लागि सरकारी निकायबाट सहयोग पाएमा आफू खुसी हुने थियौँ ।”

घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ । “अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको कुँवरको भनाइ छ । अण्डा रु १८ र एक साताको चल्ला रु १५० मा बिक्री हुँदै आएको छ ।

कुँवर दम्पतीले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुसी छन् । मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले ती दम्पतीको प्रशंसासमेत गर्न थालेका छन् । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने ती दम्पतीको माग छ ।

प्रतिक्रिया दिनुहोस !