काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणका रामकुमार सुवेदी र पत्नी माधवी रिहा हुनुभएको छ केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सुवेदी दम्पत्तिलाई जमानीमा मंगलबार छाडेको हो । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको सिआइबीले जनाएको छ ।

सीआईबीका प्रमुख धिरज प्रताप सिंहका अनुसार आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई छाडिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई गत पुस ७ गते पक्राउ गरिएको थियो ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।

प्रतिक्रिया दिनुहोस !