काठमाडौँ ।  कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने,’ गृह मन्त्रालयको निर्णयमा भनिएको छ,’जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।’

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस !