चितवन । कोरोना (कोभिड–१९) भाईरसको संक्रमण बढ्न थालेपछि चितवनका अस्पतालले उपचारको तयारी थालेका छन् । अस्पतालहरुले आवश्यक बेड (शैया), आईसियू, अक्सिजन लगायतको व्यवस्थापन गरेका हुन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले कोरोना संक्रमितको नियमित उपचार हुँदै आएको बताउँदै हाल २८ बेड छुट्याईएको बताउनुभयो । ती मध्ये १० वेड आईसियू र १८ बेड एचडियू रहेको उहाँले जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार बेड संख्या बढाउँदै लैजाने बताउनुभयो ।

अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्यांक समेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उहाँको भनाई छ । भरतपुर अस्पतालले दुई दिन अघि कोभिड टेक्निकल समिति नै बनाएर कोभिड संक्रमितको उपचारको थप तयारीमा लागेको उहाँको भनाई छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रताप देवकोटाले संक्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताउनुभयो । उहाँले पछिल्ला दिनहरुमा संक्रमित आउने क्रम बढेको बताउँदै हाल २५ बेड कोभिडका लागि छुट्याईएको जानकारी दिनुभयो । देवकोटाले भन्नुभयो “हामीले आवश्यकता अनुसार बेडको संख्या बढाउँदै लैजान्छौं ।”

कोभिडको दोस्रो लहरसँगै आईसियू र एचडियुको संख्या बढाईएको जानकारी दिंदै देवकोटाले संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, आईसियू, एचडियु र बच्चाको लागि एनआईसियू समेत पर्याप्त रहेको कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो । उहाँले पिसिआर परीक्षण गर्ने आफ्नै ल्याब रहेको समेत जानकारी दिनुभयो ।

कलेज अफ मेडिकल साईसेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का आवासीय निर्देशक डा. मनोहर प्रधानले अस्पतालमा विगतदेखि नै कोभिडका लागि छुट्याईएको १२० बेड अहिले पनि तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “हामीले कोभिड उपचार वार्डमा अरु बिरामी राखेका छैनौं, ती बेडहरु अहिले पनि अलग्गै राखिएको छ ।” आवश्यकता अनुसार बेड संख्या बढाउन सकिने प्रधानको भनाई छ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेकाले अभाव नहुने उहाँले बताउनुभयो । अस्पतालले पछिल्लो समय पिसिआर मेसिन पनि संचालनमा ल्याएको छ । विगत दुई महिनादेखि पिसिआर मेसिन संचालनमा आएको प्रधानले जानकारी दिनुभयो ।

हाल चितवनका अस्पतालहरुमा १३ जना संक्रमितको उपचार भईरहेको छ । ती मध्ये तीन जना आईसियूमा उपचाररत छन् ।

कोरोना संक्रमण बढेपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ भने, मेला, महोत्सव लगायत २५ जनाभन्दा बढी जम्मा भएर गर्ने सबै कार्यक्रम रोक्न गृह मन्त्रालय मार्फत् जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !