काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगति तथा यसलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले विम्स्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए। बिम्स्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरेका थिए।

बिम्स्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पु¥याएको योगदानको प्रशंसा गर्दै महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए।

कोभिड–१९ महामारीका कारण रोकिएको बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलंकाले आयोजनाको प्रस्ताव गरेको छ।प्रारम्भमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मार र नेपाल थपिएपछि बिम्स्टेक बनेको हो।

प्रतिक्रिया दिनुहोस !