देउखुरी ।  दाङ घोराही–९ का खुशीराम चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । नजिकँदो माघी पर्वका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न उहाँ दैनिक जङ्गल धाउन थाल्नुभएको छ ।

“तीन दिन भयो, जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेको छु । दुनाटपरी लगाउनुछ”, उहाँले भन्नुभयो, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”

घोराहीका भुवन चौधरीले भुवन चौधरीले पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त हुनुहुन्छ । “माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको शुरुआत हो । यस समयमा हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं”, उहाँले भन्नुभयो, “यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौँ । यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।”

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी शुरु गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहनुभएका चौधरीले बताउनुभयो ।

दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको हो । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघी नजिएकाले थारु बस्तीमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन् । यतिखेर गाउँगाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा सङ्कलन, धान, चामल कूटानपिसान, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन् । माछा मार्ने, ढिर्की, रोटी पकाउने, अनदीको विशेष झोल, (जाँड)अनदीको रोटी, भातलगायत विशेष मीठा मीठापरिकारको जोहो माघमा गर्ने चलन छ ।

“यतिखेर थारु बस्तीका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी शुरु भएको छ”, संयोजक चौधरीले भन्नुभयो, “माघी पर्वले थारु बस्तीमा रौनक ल्याउँछ । नयाँ जोश र उमङ्गका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो ।” माघिको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरि मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।

खिचडीमा मासको दाल, चामल र नून राखिएको हुन्छ । यो खिचडी पूर्खा, देवीदेवता र चेलीवेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर( थारु भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ । माछासँगै गङ्गटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ, माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृृङ्गार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारुले बताउनुभयो ।

थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने र नयाँ मतहवा चुन्ने चलन छ ।

यसै उपलक्ष्यमा दाङमा थारु कल्याणकारिणी सभाले माघी महोत्सव मनाउने भएको छ । मूल आयोजक समिति गठन गरेर महत्सवको तयारी गरेको थारु कल्याणकारिणीसभा दाङले जानकारी दिएको छ । यही पुस २७ र २८ गते घोराहीमा माघ महोत्सव सञ्चालन गर्न लागेको मेला आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिनुभयो ।

सांस्कृतिक, आर्थिक, अतिथि सत्कार, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वास्थ्य, स्वंयसेवक परिचालन, ¥याली व्यवस्थापन र सम्पर्क समन्वय उपसमिति गठन गरिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !