काठमाडौँ ।  राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते धुम्बाराहीमा विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

सो पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले विधान संशोधन र कार्यसमिति चयनका लागि विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने मुख्य एजेण्डा बोकेको उक्त पार्टीले युवालाई विदेश पलायन हुनबाट रोक्न विनाधितो सहुलियत ब्याजदरमा रु १५ लाखसम्म ऋण उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

राष्ट्रिय नागरिक पार्टीले हाल देशभर ३१ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको छ । विशेष महाधिवेशनपछि देशभर ७७ वटै जिल्ला र सबै स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । विसं २०७० सालमा स्थापना भएको राष्ट्रिय नागरिक पार्टीले विसं २०७५ मा पहिलोपटक विशेष महाधिवेशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !