काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति छ । शनिबार मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति छ ।

सशस्त्र द्वन्द्वकालिन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नेता तथा कार्यकर्ताको मनोभावना रहेको छ । द्वन्द्व सुरु गर्ने समयका तत्कालीन केन्द्रीय समितिमा रहेकामध्ये १७ जना केन्द्रीय सदस्य एवं नेताहरू यतिबेला माओवादीभन्दा बाहिर हुनुहुन्छ । महाधिवेशन हलले एकीकृत माओवादीको परिकल्पना गरेको छ ।

क्रान्तिकारी कम्यनिष्ट आन्दोलनको मूलप्रवाहका रूपमा रहेको माओवादी विभाजन, टुट फुट तथा विघटनको प्रक्रियाबाट अगाडि बढेको छ । तत्कालीन एकता केन्द्रबाट द्वन्द्व सुरुआत गर्दा माओवादीको रूपमा स्थापित भएको माओवादीका शीर्ष नेताहरू वैद्य, भट्टराई, चन्द र राबहादुर थापा फरक राजनीतिक दलमा लाग्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका नेता तथा कार्यकर्ताले भने एकीकृत पार्टी निर्माणका लागि राजनीतिक नीति तथा कार्यक्रमसहित पुनः एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने धारणा राख्दा सभाहलले ताली बजाएर स्वागत गरेको थियो ।

नेता गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि बढेको केन्द्रीय समितिले गरेको प्रतिबद्धता स्मरण गरे पूर्वमाओवादीहरू एक हुने दिन आउने धारणा राख्नुभयो । उहाँले राष्ट्रियताको जर्गेना तथा राजनीतिक नीति तथा कार्यक्रमसहित विचारमा एकठाँउमा आउने वातावरण बनाउन महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि तथा पर्यवेक्षकलाई आग्रह गर्नुभयो ।

उहाँले माओवादीहरू एकठाँउमा आउने दिन टाढा नभएको उल्लेख गर्दै जनजीविका र राष्ट्रियताको सवालमा एकैठाँउमा आउने वातावरण बन्ने उल्लेख गर्नुभयो । धेरै पछाडि माओवादी अध्यक्ष प्रचण्ड र नेता गजुरेलले प्रज्ञा प्रतिष्ठानको हलमा हात मिलाएको दृश्य आफँैमा अर्को महत्वपूर्ण थियो । माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण गणतन्त्र, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनको एजेण्डा संस्थागत भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले सहकार्य तथा सहमतिको कार्यसूचीलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

माओवादीको त्याग र बलिदानको आधारमा स्थापित भएको गणतन्त्र, सङ्घीयता तथा समावेशिताको प्रतिनिधित्व स्थापित भएको राजनीतिक परिदृश्यलाई अन्य राजनीतिक दलले स्वीकार गरेको अवस्था छ । तत्कालीन नेकपा(एमाले) सँग राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेण्डा अगाडि बढाउने लक्ष्यका साथ पार्टी एकता भए पनि लामो समयसम्म टिक्न सकेन । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी र एमाले फरक फरक दलका रुपमा पुनः स्थापित भए ।

तत्कालीन नेकपा विभक्त भएर तीन वटा पार्टीका रूपमा स्थापित भएको छ । तैपनि क्रान्तिकारी कम्युनिष्टको एकतालाई अगाडि बढाउनुपर्नेमा नेताहरूको थप जोड थियो । त्यति मात्रै होइन, माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कारण सङ्घीयता स्थापित भएको तथ्यलाई नेताले महाधिवेशन स्थलमा समरण गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताउँदै बाँकी कार्यसूचीलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्वपूूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै अघिल्ला प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान नहुने बताउनुभयो ।
नेकपा(माले)का महासचिव सिपी मैनालीले जनयुद्धले स्थापित गरेको लक्ष्यलाई स्मरण गर्न आग्रह गर्नुभयो । उहाँले जनयुद्धले राजनीतिक परिवर्तन गरेको भए पनि जनताको जीवनस्तरमा सुधार नआएको भन्दै जनयुद्धको लक्ष्य स्मरण गर्न आग्रह गर्नुभएको थियो ।

राप्रपाका नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले राष्ट्रियता र जनतालाई अधिकार स्थापित गराउने सवालमा माओवादीसँग आफूहरूको एजेण्डा मिल्ने भन्दै देशहितका विषयमा एक आपसमा सहकार्य गर्न सकिने बताउनुभयो । एमालेका महासचिव शङ्कर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो व्यक्त गर्नुभयो । उहाँले राजनीतिक एजेण्डा र जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा वामपन्थी शक्तिबीच मतैक्य भए पनि समृद्धिको सवालमा समान धारणा बन्न नसकेकामा गुनासो गर्नुभयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले परिवर्तनका एजेण्डालाई धरापमा पार्ने गरी प्रतिगमनले टाउको उठाइरहेको बेला वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको एकता अझै अपरिहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !